ओलीले काँग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गर्नुभएको छ: महासचिव भुसाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरू नसमात्ने ग्यारेन्टी गरेको आरोप लगाएका छन्।

पार्टीको उपत्यका कमिटीको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै महासचिव भुसालले त्यसैका कारण अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले राम्रो गरिरहेको बताउने गरेको टिप्पणी गरे।

‘अहिले देउवाजी दिनदिनै ओलीले राम्रो गरिरहनुभएको भन्दै हुनुहुन्छ। ओलीजीले कांग्रेसका भ्रष्टहरू नसमात्ने ग्यारेन्टी गर्नुभएको छ।भुसालले भने, ‘सहकारीमा रविहरूलाई देखाउन बरु आफ्नै २/४ जना गिरफ्तार गर्नुभएको छ तर उहाँले कांग्रेसलाई छुनुहुन्न।

एमाले र माओवादी पार्टी सिद्धान्त विपरीत चलिरहेको भुसालको टिप्पणी छ। एमालेमा अध्यक्ष केपी ओलीविरुद्ध कोही पनि बोल्न नसक्ने भन्दै भुसालले भने, ‘एमाले ओली सिद्धान्तमा चलेको छ, ओलीले जे भन्यो त्यही विचार हो, ओलीलाई जे गर्दा फाइदा हुन्छ राजनीति त्यही हो।’

उनले माओवादी पनि सिद्धान्तको हिसाबले नचलेको भन्दै सत्ताको पछाडि दौडिरहेको टिप्पणी गरे।

‘सिद्धान्तले चल्थ्यो भने माओवादी सरकारको रेसमा हुने थिएन तर तेस्रोचोटी प्रधानमन्त्री हुन कस्सिएको छ। उसले प्रधानमन्त्री भएपछि फेरि चौथो पटक प्रधानमन्त्री बन्न प्रयास गर्नेछ।भुसालले भने।