गोरु तस्करी प्रकरण: चौकी इन्चार्जसहित ३ प्रहरीको जिम्मेवारी खोसियो

काठमाडौं। अवैध ढंगबाट ल्याइएको गोरुलाई नाका कटाइदिएको आरोप लागेका हेटौँडा–१५ रातोमाटे चौकीका इन्चार्ज सहित ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोरु तस्करी प्रकरणमा रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाइ जिम्मेवारीबाट हटाएको हो।

मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले तस्करीलाई सहयोग गरेको आरोप लागेपछि चौकी इन्चार्ज फुयाँल सहित प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई छानबिनको लागि तत्काल जिम्मेवारीबाट हटाइएको जानकारी दिए।

गत आइतबार राती फुयाँल सहित ड्युटीमा रहेका प्रहरीले अवैध ढंगबाट झापा लगिँदै गरिएको गोरु सहितको ट्रकलाई भगाइदिएको आरोप लागेको थियो ।

फर्जी विल र भेटेनरी प्रमाणपत्र बनाएर कृषि प्रयोजनको लागि भन्दै बाप्र ०३–००१ ख १४२४ नम्बरको ट्रकमा रहेको २५ वटा गोरु सहितको ट्रकलाई रातोमाटे नाका कटाइदिएपछि जिल्ला पशुसेवा कार्यालयले पत्रकार सम्मेलन गरी घटनालाई सार्वजनिक गरेपछि चौकी इन्चार्ज सहित सोही समयमा डिउटीमा रहेका प्रहरी विवादमा तानिएका थिए।