चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ: प्रमुख बालेन साह

काठमाडौं। महानगरपालिकाका प्रमुख बालेन साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन्।

बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाइ बाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए।

उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्‍याउने बताए। उनले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेत बताए। उनले प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे।

उनले भने,काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यु एकदमै भिजिनरी हुनुहुन्थ्यो। उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुशी लागेको छ।

उहाँको बारेमा स्कुलका नानीबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ। विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ। पढाइबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ।

त्यसको लागि पेन्टिङ र आर्टहरु पनि एउटा माध्यम हो। त्यसले खाली समयमा नकारात्मक कुराहरुप्रति आकर्षित हुने कुरालाई रोक्छ। पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापमा समेत सृजनात्मकता बढ्दै जान्छ।

महानगरले विद्यार्थीलाई सिर्जनात्कम क्रियाकलापमा सहभागी गराउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको समेत बताए।