विदेश पठाइदिन्छु भन्दै १४ जनाबाट ७४ लाख ठगी,दुई पक्राउ

 काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलाम सूर्योदय नगरपालिका–१० घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये सरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।