सशस्त्र प्रहरीकी इन्स्पेक्टर महत आत्महत्या घटना छानबिन गर्न समिति गठन

काठमाडौं। ब्यारेकमै आत्महत्या गरेकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको घटना अनुसन्धान गर्न छानविन समिति गठन भएको छ।

इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी सिन्धुपाल्चोककी २९ वर्षीया महत शनिबार पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

यस घटनाको अनुसन्धान गर्न राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। डीआईजी सिंहको नेतृत्वका ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए।

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक ९२०८१० कि इन्स्पेक्टर हुन् । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन्।

त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तालिम गरिरहेकी थिइन्। उनको शव पोस्टमार्टमको लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ।