सरकारले ल्याएका सबै अध्यादेश पारित हुन्छन्,शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित: गृहमन्त्री लेखक
काठमाडौं।सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने गृहमन्त्री रमेश लेखकले दावी गरेका छन्। शुक्रबार काठमाडौंमा नेशनल प्याव्सनको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दावी गरेका हुन्।
गृहमन्त्री खकले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताउनुभयो। अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनले बताए।
उनले देशमा दिगो शान्ति,सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे। गृहमन्त्री लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाउने र विधेयकलाई समयमा नै पारित गरि शिक्षा क्षेत्रको कानुनी र नीतिगत सुधार गर्ने बताए।मन्त्री लेखकले अहिले शिक्षा विधेयक संघीय संसदमा रहेको उल्लेख गर्दै शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए।
मन्त्री लेखकले संघीय संसदमा विधेयकलाई अघि बढाउन ढिलाइ भएकाले निश्चित समयवधिभित्र विधायनका विषयलाई टुङ्गाउने गरि काम गर्ने धारणा राखे। उनले नीजि वा आवासिय विद्यालयका कारण सार्वजनिक वा सामुदायिक विद्यालयको गुणस्तर नघटने जिकिर गरे।
उनले संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति,निर्माण गरेर संविधानका व्यवस्थाहरूलाई जनतासम्म पुर्याउने काममा सरकार लागिरहेको बताए।
गृहमन्त्री लेखकले संघीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा सरकार लागिरहेको उल्लेख गरे। उनले शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको भन्दै विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरूलाई केन्द्रीय भागमा राखेर विधेयक पारित हुने उल्लेख गरे।
संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति, निर्माण गरेर संविधानका ती व्यवस्थाहरूलाई जनतासम्म पुर्याउने काममा हामी लागेका छौँ।
गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणबाट बनेको सरकार सरकार बनाउनका लागि र केही नेतालाई प्रधानमन्त्री, मन्त्री बनाउनका लागि मात्रै नबनेको उल्लेख गरे। उनले स्थिर सरकारको निर्माण र त्यसबाट देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रा अगाडि बढाउन उद्देश्यले कांग्रेस—एमालेको सरकार निर्माण भएको बताए।
गृहमन्त्री लेखकले व्यावसायिक वातावरण सुनिश्चित गर्नका लागि सरकारले अवरोध हुने कानुनलाई समाप्त गरेर सेवालाई सहजता प्रदान गर्ने उद्देश्यले अध्यादेश ल्याएको बताए। सरकारले ल्याएको अध्यादेशप्रति आम नागरिक, निजी क्षेत्र सबै खुसी रहेको उल्लेख गरे।
