लागुऔषध नियन्त्रणका लागि भएका प्रयासमा पुनःविचार जरुरी: उपप्रमुख डंगोल

काठमाडौं। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि भएका प्रयासको पुनःविचार आवश्यक रहेको बताएकी छन्।

शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषधविरुद्धको महाभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन्। उनले लागुऔषविरुद्धको महाभियान नेपाल प्रहरी,स्थानीय सरकार र सरकारको मात्रै नभई सम्पूर्ण नागरिकको भएको बताइन्।

उनले लागुऔषधविरुद्धको दिवस हरेक वर्ष मनाइने गरे पनि नियन्त्रण नहुनुले नियन्त्रणका लागि भएका प्रयासको पुनःविचार आवश्यक रहेको देखिएको बताइन्।

उपप्रमुख डंगोलले भनिन्‚ ‘यो महाभियान नेपाल प्रहरीको मात्र, स्थानीय सरकार, सरकारको मात्र होइन। यो हरेक व्यक्तिको अभियान हुनुपर्छ। हामीले लागु औषधविरुद्धका दिवस पनि मनाउने गर्दछौँ।

त्यसमा लागुऔषधको प्रयोग र कारोबारलाई बन्द गरौँ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आइरहेका छौँ। यति मनाउँदा मनाउँदै पनि संख्या घट्नुपर्ने ठाउँमा बढिरहेको छ।

त्यसको अर्थ अहिले हामीले जुन अप्रोचमा जुन बाटोबाट हामीले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ। ती प्रयासलाई फेरि एकपटक पुनःविचार गर्नुपर्ने आवश्यकता देखिएको छ।

उपप्रमुख डंगोलले लागुऔषध नियन्त्रणको अभियानमा सबैसँग मिलेर काम गर्न महानगरपालिका तयार रहेको बताइन्।