पालिका र वडा स्तरबाट लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्छ: गृहमन्त्री लेखक

काठमाडौं। नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन्।
शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए।
उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए। पालिका र वडा—वडा स्तरबाट लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे।
समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे।
गृहमन्त्री लेखकले भने,अहिले हामी संघीयतामा छौँ। तीन तहमा सरकार छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। यसमा स्थानीय तहलाई जोड्न जरुरी छ। किनभने यो अभियानलाई वडा वडा स्तरमा पुर्याउन सकियोस्। पालिकाहरुले पनि यसलाई एउटा अभियानका रुपमा अघि बढाउन जरुरी छ।
गृहमन्त्री लेखकले अपराध बढाउने मध्येको एउटा मूल कारण लागुऔषध रहेको बताए। अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे। लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्याउन जरुरी रहेको बताए।
लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गरे।
