आपतकालीन गोदामघर सुदूरपश्चिम प्रदेशलाई गृहमन्त्री लेखकद्वारा हस्तान्तरण
काठमाडौं।गृहमन्त्री रमेश लेखकले धनगढी विमानस्थलमा रहेको प्रादेशिक आपतकालीन गोदाम हस्तान्तरण गरेका छन्। सङ्घीय सरकार मातहतमा रहेको गोदाम सुदूरपश्चिम प्रदेश सरकारलाई मन्त्री लेखकले हस्तान्तरण गरेका हुन।
गृहमन्त्री लेखकले प्रादेशिक गोदाम सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेका हुन। विपद्को समयमा प्रयोग गरिने सामाग्रीसहितको गोदाम प्रदेश सरकारको मातहतमा हस्तान्तरण गरिएको हो।
गृहमन्त्री लेखकले नयाँ कार्यविधि तयार पारेर ६ वटा प्रदेशलाई प्रादेशिक आपतकालीन गोदाम हस्तान्तरण गरिएको बताए। बागमती प्रदेशमा लागि काठमाडौंमा रहेको गोदामले काम गर्ने बताएका छन्।
उनले भने, भूकम्प पटकपटक गएको छ। एकहप्तामा चार पटक भूकम्प गइसक्यो,आज मात्र पोखरामा भूकम्प गयो। यस्तो विपद्का घटना कतिबेला हुन्छन् थाहा हुँदैन त्यसैले हरेक प्रदेशमा आपतकालीन गोदाम हस्तान्तरण गरिएको बताए। उनले भने पहाडमा बाढी,पहिरो र आगलागी जस्ता घटना हुने र तराइमा शीतलहर र गर्मीले हुने भएकाले आपतकालीन गोदामलाइ तयारी अवस्थामा राख्नु पर्ने बताए।
त्यस्तै हिमाली क्षेत्रमा लेक लाग्ने,चिसोले समस्या गर्ने जस्ता घटना हुने भएकाले २४ सै घण्टा तीन तहका सरकार, प्राधिकरण र सुरक्षा निकायहरूले तयारी अवस्थामा रहनुपर्ने बताए।
प्रमुख जिल्ल अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय विपद् व्यवस्थापन समिति,स्थानीय सरकारसहितको चार वटै निकायहरू तयारी अवस्थामा रहन गृहमन्त्री लेखकले निर्देशन दिएका छन्।
उनले भने,प्रदेश सरकार,स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले नजिकको सम्बन्ध राख्नु पर्नेमा गृहमन्त्री लेखकले जोड दिए। हामी एकदमै खतराको अवस्थामा रहेका छौ भूकम्पका साना साना पराकम्पन धेरै पटक गइरहेका छन्। त्यसैले भूकम्पबाट हुने क्षति कम गर्न आपतकालीन गोदाम सबै प्रदेशमा स्थापना गरिएको मन्त्री लेखकले बताए।
गृहमन्त्री लेखकले हस्तान्तरण गरेको गोदाममा भारतीय टेन्टहरू २६५, चीनीय टेन्टहरू ३९०, सिलिपिङ्ग ब्यागहरू २३७, कम्बलहरू ५ सय, बेडहरू २३१, म्याट्रेज ५ सयसहित विभिन्न सामाग्रीहरू जम्मा ३,४६७ हस्तान्तरण गरिएका छन्। विपद्को समयमा आवश्यक पर्ने अन्य सामाग्रीहरू पनि गोदाममा राखिएका छन्।
