राजावादीवादीको जनप्रदर्शनले गणतन्त्रवादी संकटमा, प्रतिवादमा प्रचण्ड मात्र देखिए
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’चार दिनयता निकै दबाब महसुस गरिरहेका छन्। राजावादीहरूको जनप्रदर्शनले आत्तिएका जस्ता देखिएका प्रचण्ड त्यसविरुद्ध सक्रिय मात्र भएका छैनन्, आक्रामक शैलीमा नै अघि बढेका छन्।
सङ्घीय राजधानी काठमाडौंमा फागुन २५ गते नागरिकले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति देखाएको सदाशयले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ। जनताबाट पूर्वराजा शाहले पाएको सद्भावले सबैभन्दा बढी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रामक बनेका छन्।
राजावादीहरू हौसिँदा त्यसलाई काउण्टर दिन प्रचण्ड भने सक्रिय भएर लागेका छन्। अन्य गणतन्त्रवादी दलहरूले राजावादीको उक्त जनप्रदर्शनलाई विगतमा झै सामान्य रुपमा लिएर सार्वजनिक रूपमा बोले पनि प्रचण्ड भने पार्टीको अभियान नै स्थगित गरेर प्रतिवादमा उत्रिएका छन्।
माओवादीले सञ्चालन गरिरहेको तराई मधेश जागरण अभियानलाई फागुन २४ गते अचानक रौतहटमा थाती राखेर काठमाडौं हानिएका प्रचण्ड सडक सङ्घर्षमा उत्रने तयारीमा छन्।
पार्टीको अभियान बीचैमा अलपत्र पारेर काठमाडौं आएका प्रचण्डले २६ गते पार्टी पदाधिकारीको बैठक राखेर राजावादीको प्रदर्शनको समीक्षा गर्दै त्यसका विरुद्ध प्रदर्शन नै गर्ने निर्णय गरेका छन्।
काठमाडौंमा राजावादीको सक्रियता बढ्न थालेपछि त्यसलाई काउन्टर दिन प्रचण्डले विपक्षी दलको नेताको हैसियतामा संसद्मा सम्बोधनसमेत गरेका छन्।
राजावादीहरूको जनप्रदर्शन पछि प्रचण्डको चिट्चिहाट बढेको स्पष्ट हुँदा कांग्रेस एमालेका शीर्ष नेतृत्व भने मौन नै छन् । प्रचण्डले आफ्नो पार्टीको अभियान नै त्यागेर राजावादीसँग भिड्ने सङ्केत गरिरहँदा काठमाडौंमै भएका कांग्रेस सभापति शेरबहादुर देउवा भने प्रदेशमा पार्टीको कार्यक्रममा मख्ख छन्।
त्यस्तै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रदेश–प्रदेश घुमिरहेका छन् । व्यवस्था विरोधी गतिविधिले सत्तामा भएका दलका दुई ठूला नेताहरूले नै बढी थ्रेट महसुस गर्नु पर्ने भए पनि विपक्षी दलका नेता प्रचण्ड बढी दबावमा देखिन्छन्।
सङ्घीयता मन नपराउनेहरूले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था विरोधी अभियान चलाएको माओवादीको आरोप छ । सरकार सबैखाले काममा असफल हुँदा राजावादीले मुन्टो उठाउने आँट गरेको भन्दै माओवादीले कांग्रेस एमालेमाथि नै दोष थुपारेको छ ।
देशमा गणतन्त्रको मुख्य हिमायती नै माओवादीलाई ठान्ने प्रचण्डले यो व्यवस्था ल्याएको जस आफैँले लिने गरेका छन् । त्यसैले पनि व्यवस्था विरोधी आवाज उठ्दा सबैभन्दा बढी हतास उनी नै छन्।
त्यस्तै ठूला दललाई तह लगाउन पनि प्रचण्ड अझ बढी आक्रामक बनेका छन्। राजावादीहरू सलबलाइरहँदा गणतन्त्रमा विश्वास राख्ने नागरिकको भावना माओवादीतर्फ तान्न पनि प्रचण्डले यसलाई प्रयोग गरिरहेका छन्। उग्र गणतन्त्रवादी बनेपछि व्यवस्थालाई आत्मसात् गर्ने अधिकार माओवादीलाई मात्रै भएको सन्देश दिन पनि प्रचण्ड अग्रसर देखिन्छन्।
राजावादीको मुद्दालाई एजेण्डा नै बनाएर प्रचण्ड गणतन्त्रवादीको मन जित्ने कोशिशमा छन्। राजतन्त्रलाई रछ्यानमा मिल्काइसकेको भने पनि प्रचण्ड राजावादीहरू सलबलाउन थालेपछि आत्तिएका छन्। साथै, हौसिएका राजावादीलाई तह लगाउन त्यसका विरुद्ध पनि आक्रामक भएर लागिरहेका देखिन्छन्।
