नेताहरुको कुकर्मका कारण गणतन्त्र बदनाम भयो: अध्यक्ष साह

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको कुकर्मका कारण गणतन्त्र बदनाम भएको टिप्पणी गरेका छन् । साहले भ्रष्ट र दलाल दलतन्त्रबिरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको पनि बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक भिडियो अपिल जारी गर्दै उनले आउँदो २४ चैतमा दलाल दलतन्त्रको अन्त्य हुने घोषणा गरेका छन् ।

आजापाले २४ चैतमा काठमाडौंको भृकुटी मण्डपमा खबरदारी सभा एवं काठमाडौंमा प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा साहले जारी गरेको भिडियो अपिलमार्फत दलतन्त्रको अन्त्य नै वर्तमान संकटको समाधान भएको जनाएका छन् ।

‘आज दलाल दलतन्त्रले देश बेहाल छ। नेताहरुको कुकर्मले गणतन्त्र बदनाम छ। जनताको रगत पसिना चुसेर नेताहरु मोटाएका छन् । नेताका आसेपासे मालामाल छन्, जनता लचार छन्,अध्यक्ष साहले भने, ‘कसैको अगाडि कहिल्यै नझुकेको हाम्रो गौरवशाली इतिहास आज दलालीले पोतिदैछ । नेपाली जनताको सपना खोसिएको छ।

केही गर्न बिदेशै जानुपर्ने बाध्यात्मक स्थिति शासकहरुले निर्माण गरेको आरोप लगाउँदै पढनेदेखि रोजगारका लागि विदेशिने क्रम बढेको बताए।

उनले भने, ‘केही गर्नका लागि विदेशै जानुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ। आश बोकेर विदेश जानेहरु आज लाश बनेर फर्किरहेका छन्। यतिमात्रै हैन आज हाम्रो अर्थतन्त्र डमाडोल छ, व्यापार घाटामा छ, नेताहरुको अत्याचार र भ्रष्टाचार बढेको छ।

सुशासन सुनशास छ, विकास विलाएको छ, कर आतंक छ, महंगी आतंक छ। हाम्रो प्राकृतिक सम्पदाहरुको खुलेयाम विक्री र दोहन भईरहेको छ। जनता दिनदिनै बैदेशिक ऋणमा थिचिदैछन्। यि तमाम संकटको अन्त्यका लागि तपाई हामी अगाडी आउँनै पर्छ।

नागरिकलाई दास बनाउने र युवालाई लाश बनाउने यि पार्टी र नेताहरुबाट आश गर्नु भनेको ठुलो धोखा हुने उनले जनाएका छन्। जस्तो फ्याक्ट्री हुन्छ उत्पादन पनि त्यस्तै हुने बताउँदै अहिलेको व्यवस्था नै लुटकारी भएको बताए।

लुटकारी व्यवस्था रहेसम्म जनताको कल्याण नहुने र जनताको भविष्य पनि उज्जवल नहुने बताउदै उनले दलाल लुटकारी दलतन्त्रको बिरुद्धमा जनता सडकमा आउनुको विकल्प नभएको बताए।

‘इतिहास साक्षी छ, हिजो पञ्चायती व्यवस्थामा पञ्चहरु मोटाए, आज दलतन्त्रमा दलका नेताहरु मोटाईरहेका छन्। त्यसैले जनता मोटाउन जनताको शासन चाहिन्छ।

जनताको शासनका लागि दलतन्त्रको अन्त्य हुन आवश्यक छ। त्यसैले आजपाले आह्वान गरेको जनताको शासनका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन चैत २४ गते काठमाडौंको भृकुटी मण्डप जाऔं’ आजपा अध्यक्ष साहले भने।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचारबिरुद्ध खबरदारीसभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितताबिरुद्ध संघर्ष गर्दै आएको छ।