कांग्रेसका नेताले चिहानको जग्गा पनि छाडेनन्: सांसद खनाल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन्। उनले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय निकालय संरक्षणमा कुनै पहल नगरेको आरोप लगाए।
उनले भने, ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२÷६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ।
रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरिन्। सांसदहरुको यस्तो आरोपपछि कांग्रेस नेताहरु उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिनसमेत संसदको ध्यानाकर्षण गराएपछि उनीहरू बसेर बैठक चलाउन सहयोग गरेका थिए।
