स्ववियु निर्वाचन: ५ क्याम्पसमा अखिल क्रान्तिकारी,चार क्याम्पसमा नेविसंघ विजयी,यी क्याम्पसमा चुनाव स्थगित
काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा काठमाडौं उपत्यकाका पाँच क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्।
जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस बानेश्वर, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका हुन्।
जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका छन्।
यस्तै, ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सचिव पदमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्। पुल्चोकको स्ववियु सचिवमा दिवस सापकोटा र थापाथलीको स्ववियु सचिवमा जेसिस उपाध्याय विजयी भएका छन्।
पुल्चोक इन्जिनियरिङको सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ र थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका उम्मेदवार प्रह्लाद खड्का विजयी भएका छन्।
काठमाडौं उपत्यकाका मुख्य क्याम्पसमा भने चुनाव स्थगित भएको छ। ६२ आंगिकसँगै त्रिविको १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन्। विवादका कारण कतिपय क्याम्पसहरूमा निर्वाचन हुन सकेको छैन।
निर्वाचनको तयारी पूरा भएपनि काठमाडौंका मुख्य क्याम्पसमा चुनाव रोकिएको छ। रत्नराज्य क्याम्पसमा तयारी पूरा भएपछि अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ। रत्नराज्य, त्रिचन्द्र, पद्मकन्या, विश्वभाषा, अस्कल, ल, सरस्वती, पब्लिक युथ, शंकरदेव लगायतका क्याम्पसमा चुनाव हुन सकेको छैन।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा पनि चुनाव भएन। विश्वविद्यालय क्याम्पसको चुनाव चैत ८ का लागि तोकिएको छ। चुनाव स्थगित भएका क्याम्पसहरूमा १५ दिनभित्र चुनाव गराउने तयारी भइरहेको त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले बताएका छन्।
कैलालीका चार क्याम्पसमा नेविसंघ विजयी
त्यस्तै कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चार क्याम्पस र माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ । एमाले निकट अनेरास्ववियुले भने कुनै क्याम्पसमा जित्न सकेको छैन ।
नेविसंघले प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जोशी), भजनीको मोहन्याल बहुमुखी (झंकर बुढा), जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा (गोपाल खत्री) जितेको छ।
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मतगणना जारी रहेको छ । तर यहाँ पनि नेविसंघले अग्रता लिइरहेको छ।
यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ । क्रान्तिकारीले लम्की बहुमुखी क्याम्पसाा (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा (विवेक चौधरी) र सुखडको राष्ट्रिय कलेजमा (सुन्दर गौतम) जितेको हो।
चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीले १२५ बराबर ल्याएका छन्। त्यहाँ नेविसंघले पुनः मतगणना हुनुपर्ने माग गरेको छ। घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन्।
