मुग्लिन-नारायणगढ खण्डमा ट्रक पल्टिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध

मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा कोइला लोड गरेको ट्रक पल्टिँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको हो।

कोइला लोड गरेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।

सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंह नेतृत्वको टोली खटिएर बाटो खुलाउने प्रयास गरिरहेको छ।