ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइयो: अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गर्नकै लागि यी दुई विमानस्थल बनाएको आरोप लगाए। उनले ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइएको दावी गरे।

पूर्वमन्त्रीसमेत रहेका लिङ्देनले भने, ‘नागरिकको टाउकोमा ऋण थोपरेर ४०/४१ अर्ब खर्च गरेर विमानस्थल बनाउने तर नचलाउनेको खोजी गर्नुपर्ने बेला आएको छ।

उनले सरकारले चाहे गौतमबुद्ध विमानस्थल सञ्चालन हुन सक्ने बताए । तर, पोखरामा न्यारोबडी जहाजसमेत सञ्चालनमा कठिनाइ हुनसक्ने बताउँदै उनले भ्रष्टाचारलगायत ऋण बोकाएर विमानस्थल बनाउनेलाई कारबाही गर्न माग गरे ।

अध्यक्ष लिङ्देनले अहिले चलाइरहेको व्यवसाय टिकाउनै गाह्रो भएको बताउँदै नयाँ व्यवसाय गर्छु भन्दा कयौं कार्यालय धाउन र घुस दिँदासमेत काम नहुने समस्या रहेको बताए ।