रेमिट्यान्सको अवैध खेलले गभर्नर नियुक्ति ढिलाइ: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा ढिलाइ र चलखेल भएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। शनिवार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवासँगको कुराकानी उल्लेख गर्दै कोइरालाले देउवाले ‘राम्रो व्यक्ति गभर्नर नियुक्त हुने’ आश्वासन दिएको बताए। तर, उनले रेमिट्यान्सको नाममा अवैध रकम भित्रिरहेको र गभर्नर नियुक्तिमा समेत त्यस्तो चलखेलको सम्भावना रहेको आशङ्का गरे।

राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा कतै गडबड त भइरहेको छैन भन्ने डर छ । सभापतिले राम्रो मान्छे नियुक्त हुन्छ भन्नुभएको छ, तर यो कुराले चिन्ता बढाएको छ,उनले भने।

कोइरालाले देशमा जनताले सुशासन खोजे पनि कुशासन मौलाएको दाबी गरे। साथै, गभर्नर नियुक्ति प्रक्रियामा संविधानको उल्लङ्घन भएको आरोप लगाए। नियुक्ति प्रक्रिया पारदर्शी र संवैधानिक हुनुपर्छ, तर यहाँ चलखेलको आशङ्का छ,उनले थपे।

यो मुद्दाले राष्ट्र बैङ्कको नेतृत्व चयनमा पारदर्शिता र स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। कोइरालाको यो भनाइले सत्तारूढ गठबन्धनभित्र र बाहिर समेत बहस सिर्जना हुने देखिन्छ।