तिनकुने घटना अपराध हो,धर्मसंग नजोडौं: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री लेखकले हिंसालाई धर्मसंग जोड्न नसकिने भन्दै तीन कुनेमा गरिएको राजतन्त्र वकालतको बिषय नेपालको संविधान बिपरित रहेको बताएका हुन् ।

उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजन भइरहेको उनले जानकारी दिए । मन्त्री लेखकले अपराधीक कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरमा ल्याइने स्पष्ट पारे।

त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत र सतर्क रहेको उल्लेख गर्दै उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको जिकिर गरे।

त्यस्तै गृहमन्त्री लेखकले उक्त घटनाका घाइतेको सरकारले निशुल्क उपचार गरिरहेको र हाल दुई जनाको उपचार जारी रहेको बताए । गृहमन्त्री लेखकलाई सांसदहरु प्रेम सुवाल, निशा डाँगी र सोविता गौतमले प्रश्न गरेका थिए।