देउवामाथि थपिँदैछ संकट,पार्टी भित्र र बाहिर बाटै दबाब

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी भित्रबाटै दोहोरो दवावमा देखिएका छन्। उनी एकातर्फ सरकारको कामकारवाही फितलो भएको भन्दै नेताहरुबाट घेराबन्दी झेलिरहेका छन्। त्यस्तै अर्कोतर्फ पार्टीको भावी महाधिवेशन सम्पन्न गर्न तदारुकता नदेखाएको भन्दै देउवाप्रति नेता तथा कार्यकर्ता रुष्ट छन्।

संसदको सबैभन्दा ठूलो दल भएरपनि काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री थमाइरहनुपर्ने बाध्यता छ। यसमा काँग्रेस संस्थापन इतर पक्षका नेताहरु सरकारको कामकारवाही प्रति सुरुका दिनदेखि नै असन्तुष्ट छन्।

यो विषयमा अर्को समूहको नेतृत्व गरिरहेका शेखर कोइराला अझ आक्रामक छन्। उनी काँग्रेसले नै काँध हालिरहेको ओली सरकारले फितलो प्रदर्शन गरेको भन्दै पटक–पटक पार्टी नेतृत्वप्रति खबरदारी गर्दै प्रश्न समेत उठाउँदै आएका छन्।

यद्यपि देउवाले भने ओली सरकारको विकल्प देखेका छैनन्। उनी कुनै पनि हालतमा वर्तमान सरकारको निरन्तरता चाहन्छन् । उनले यसअघि एक सार्वजनिक कार्यक्रममै ओलीलाई काँग्रेसको साथ रहिरहने प्रष्टोक्ति दिएका थिए।

सरकारले पद रिक्त भएको डेढ महिना पुगिसक्दा पनि गभर्नर नियुक्त गर्न सकिरहेको छैन। यो विषयमा ओली र देउवाबीच असझदारी कायमै छ । ओलीकै कारण काँग्रेसले चुनेका पात्रहरुलाई गभर्नर नियुक्त गर्न सकस परिरहेको छ । यद्यपि देउवा भने यस्को दोष ओलीलाई दिन चाहिरहेका छैनन् ।

तर यो विषयले नेपाली काँग्रेसभित्र भने तरङ्ग ल्याइरहेको छ। गभर्नर नियुक्त गर्न नसकेको विषयलाई लिएर काँग्रेस सांसदहरुले सदन र सडकबाटै सरकारमाथि प्रश्न उठाउन उठाइरहेका छन्। भने यस विषयमा सभापति देउवासमेत जिम्मेवार हुनुपर्ने संककेत गरिरहेका छन्।

यहीबीच सभापति शेरबहादुर देउवा निकटकै ७ नेताहरुले भने छुट्टै भेला गरेर सरकारको कार्यशैली र भावी महाधिवेशनबारे गम्भीर छलफल गरेका छन्।

नेताहरु शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र नीधि, गोपालमान श्रेष्ठ विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र डा.प्रकाशशरण महतले आइतबार बैठक नै बसालेर सरकारले प्रभावकारी काम गर्न नसकेको निश्कर्ष निकालेका हुन्। निकटकै नेताहरुले आफ्नो कदमप्रति असन्तुष्टि जनाउन थालेपछि सभापति देउवा अझ दबावमा पर्ने स्थिति बनेको छ।

महाधिवेशनको उल्झन उस्तै

नेताहरुबाटै सभापति देउवामाथि समयमै महाधिवेशन गर्न तदारुकता नदिएको आरोप लाग्दै आएका छन् । हुन पनि देउवाले सत्ताको मोह देखाउँदै विधानमा भएका सबै व्यवस्थाको सदुपयोग गर्ने रणनीति बुनेका छन्।

काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षे हुन्छ। जो यही मंसिरमा सकिँदै छ। विधानमा एक वर्ष कार्यकाल थप गर्न पाउने व्यवस्था छ।

यो सुविधा लिँदा कांग्रेसलाई २०८३ मंसिरसम्म महाधिवेशन गर्ने समय मिल्नेछ। त्यस्तै संविधानले पनि त्यसमा ६ महिनाको थप समय दिन सक्ने व्यवस्था गरेको छ।

यो सबै छुटलाई देउवाले सदस्यताको कारण देखाएर सदुपयोग गर्न सक्छन्। र, पार्टीको महाधिवेशन ०८३ मंसिर भन्दा पछि धकेल्न सक्छन्। तर पार्टीका नेताहरु भने समयमै महाधिवेशन गर्न दवाव दिने तयारीमा छन्।

पार्टीको संस्थापन इतरका नेताहरू शेखर कोइराला र गगन थापाले समेत समयमै महाधिवेशन गराउनका लागि देउवामाथि दबाब बढाउन थालिसकेका छन्।

शेखरले त यसअघि नै भावी सभापतिको दावेदार घोषणा गर्दै नेतृत्वमा आफूलाई सघाउन र समयमै महाधिवेशन गराउन अभियान नै थालेका छन्।

 देउवा आफू सभापति रहेकै बेला प्रधानमन्त्री बन्ने र शक्तिकै प्रयोगमार्फत आफू अनुकुलको पात्रलाई भावि नेतृत्व छाड्ने योजनामा देखिन्छन। तसर्थ उनले ओलीसँगको सहकार्यलाई तत्काल तोड्ने मनशाय देखाएका छैनन्। यद्यपि उनको योजनामा नेताहरु बाधक बन्ने संभावना बढ्दो छ।