रवि र छविको निवेदनमा आज पनि सुनुवाइ नहुने
काठमाडौं । रास्वपा सभापाति रवि लामिछाने र छविलाल जोशीको निवेदन आज पनि सुनुवाइ नहुने भएको छ। मंगलबार ‘हेर्दाहेर्दैमा’ राखिएको लामिछानेको निवेदनमा आज पनि सुनुवाइ नहुने भएको हो।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने र जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग राखेर दिएका्े निवेदनमाथि मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रहेको यो मुद्दाको सुनुवाइ आज स्थगन गरिएको सर्वोच्चले जनाएको छ। न्यायाधीश सुवेदी संवैधानिक इजलासमा जानुपर्ने भएकाले ढकालसँगको इजलास नबस्ने भएको छ। संवैधानिक इजलास हरेक बुधबार बस्ने गरेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
छविको हकमा भने जिल्लाले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेश उच्चबाट पनि सदर गरेको थियो। हाल रवि र छवि रुपन्देही कारागारमा छन्।
बन्दी प्रत्यक्षीकरणको रिट परेसँगै दिनदिनै पेसी तोकिएपनि सुनुवाइ हुन सकेको छैन। बन्दी र अरु निवेदन साथै राखेर हेरिएको छ।
