प्रचण्ड भन्छन्-बाबुराम बुद्धि नभएका डाक्टर हुन

फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईको कडा आलोचना गरेका छन्। बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनी बाबुरामको कडा आलोचना गरेका छन्।

बाबुराम भट्टराईसँग पार्टी एकता सम्भव छ ? भन्ने पत्रकारको प्रश्नमा आक्रोशित हुँदै भने,सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने? उनले पार्टी एकता गर्ने भनेरै गत निर्वाचनमा आफू बाबुरामको निर्वाचन क्षेत्र गोरखाबाट उठेको तर पछि भट्टराईले कम्युनिस्ट नाम सुन्नै नचाहेको आरोप लगाए।

‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिस्टको नामै सुन्न चाहनुभएन। कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने ? बाबुरामका लागि मर्ने ? उनले प्रश्न गर्दै भने।

साथै उनले बाबुराम खिइँदाखिइँदै देशभरी हाँसोको पात्र भएको टिप्पणी गरे। कम्युनिस्ट पार्टी नभन्ने, माक्र्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने ? खिइँदाखिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ,उनले भने,प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभर। कस्तो बुद्धि नभएको डाक्टर।