राजावादीहरूको आन्दोलनलाई टुलुटुलु हेरेर बस्दैनौँ: मन्त्री गुरुङ
काठमाडौं। नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजेको भन्दै सरकार टुलुटुलु हेरेर नबस्ने बताएका छन्।मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो बताएका हुन्।
उनले भने, ‘राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई चुनौती दिने प्रयास गरेका छन्। तर सरकारले उदारतापूर्वक विरोध गर्नेहरूलाई पनि बोल्ने छुट छ। तर यो सरकारको कमजोरी होइन र डराएर पनि होइन।
उनले सरकारको उदारतालाई कमजोरी नठान्न भन्दै भने, ‘यसलाई कमजोरी नठाने हुन्छ र सधैँ संविधान, र व्यवस्था विरोधी क्रियाकलाप भइरहे सरकार टुलुटुलु हेरेर बस्दैछ, प्रतिवाद गर्छ।
उनले लाखौँ नेपाली जनताले रगत पसिना बगाएर र दुःख गरेर ल्याएको गणतन्त्र विरोधी गतिविधि भए प्रतिबन्ध लगाउने कानुनी अधिकार भए पनि सरकार अहिले नै त्यो बाटोमा गइनसकेको प्रस्ट पारे।
उनले भने,जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन त्यसै दिन मानेर सरकारले भव्य रूपमा मनाउने निर्णय गरेको । त्यसै दिन गणतन्त्रलाई चुनौती दिने राजावादीहरूले प्रयास गरेका छन्। तर हामीले उदारतापूर्वक शासन प्रणाली उल्ट्याउन चाहनेलाई सभा र बोल्ने छुट दिएका छौँ, उनले भने ‘सधैँ संविधान र व्यवस्था विरोधी गतिविधि गरे यथोचित प्रतिवाद हुन्छ।
सबैलाई बोल्ने छुट भएको भन्दै उनले अहिले सत्तापक्ष र प्रतिपक्षमा रहेकाहरू गणतन्त्रको रक्षाका लागि एक ठाउँमा उभिन आवश्यक रहेको बताए।
