गृहमन्त्री लेखकले भिसासम्बन्धी आरोपमा कुनै संलग्नता नरहेको र छानबिनमा सघाउँने प्रतिबद्धता
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयलाई लिएर सामाजिक सञ्जालमा चर्चित भएका विभिन्न समाचार र आरोपप्रत्यारोपका सन्दर्भमा गृह मन्त्रालयले आफ्नो अडान स्पष्ट पारेको छ।
मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत आफ्ना नेतृत्वको कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्नता नरहेको दाबी गरेको छ।
मन्त्रालयको अडान
गृह मन्त्रालयका सहसचिव छवि रिजालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, सरकारले कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट पार्दछ।मन्त्रालयले सञ्चारकर्मीहरूलाई सत्यतथ्यमा आधारित समाचार मात्र प्रकाशन र प्रसारण गर्न अनुरोध गरेको छ।
अनुसन्धान जारी
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा छानबिन गरिरहेको छ।मन्त्रालयले आयोगको अनुसन्धान कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउनेछ, विज्ञप्तिमा उल्लेख छ।
शून्य सहनशीलताको नीति
गृह मन्त्रालयले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम राख्न निरन्तर कार्य गरिरहेको बताएको छ। मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको दाबी गरेको छ।
विज्ञप्तिअनुसार गृह प्रशासनलाई व्यवस्थित बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत भइरहेका छन्। यो विज्ञप्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएका कथित अनियमितता र भ्रष्टाचारका आरोपहरूका बीचमा आएको हो।

