हवलदारसहित २१ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र उपस्थित नभए सेवाबाट हटाउने चेतावनी

काठमाडौं। प्रहरी प्रधान कार्यालय, नक्सालले एकजना हवलदारसहित २१ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएको भन्दै सार्वजनिक सूचना जारी गरेको छ। आइतबार प्रधान कार्यालयले फागुन र चैतदेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ।

सूचनाअनुसार एकजना प्रहरी हवलदार, पाँचजना सहायक हवलदार, १५ जना प्रहरी जवान र एकजना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन्। गैरहाजिर हुने हवलदारमा कर्णाली प्रदेश कार्यालय गण सुर्खेतमा दरबन्दी रहेका दाङ राजपुर गाउँपालिका–२ का अमरनाथ चौधरी छन्। उनी चैत २६ गतेदेखि गैरहाजिर रहेको सूचनामा उल्लेख छ।

यस्तै, सहायक हवलदारहरूमा राजु धिताल, खुमबहादुर खड्का, मालिकराम कान्दु र चित्रबहादुर पुन मगर छन्। उनीहरू पनि चैतको विभिन्न मितिदेखि गैरहाजिर छन्। अन्य बाँकी १५ जना जवान र एक कार्यालय सहयोगी पनि सम्पर्कविहीन छन्। 

उनीहरूको खोजतलास गर्दा, गराउँदा र प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित ७ दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।