कवि डाँडा साहित्य समाजको २२औं वार्षिकोत्सव सम्पन्न
प्रेम प्रसाद कडेल
चितवन।कविडाँडा साहित्य समाज चितवनको २२ औँ वार्षिकोत्सव अध्यक्ष कवि एल बी क्षेत्रीको अध्यक्षता एवम् समाजका सचिव युवा गजलकार लेखराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको छ। सो अवसरमा कविडाँडा कृति पुरस्कार- २०८१ बाट `अलङ्कार इन्द्रेनी´ काव्यका लागि कविवर गोविन्दराज विनोदी, कविडाँडा साहित्य सम्मान तथा देव-खिना स्मृति पुरस्कार – २०८२
बाट कवि लकास पौडेल र कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार – २०८२ बाट गजलकार अविरत सुमन (सुमन घिमिरे) सम्मानित हुनुभएको छ । पुरस्कारको राशि पन्ध्र हजार एकसय साठी र सम्मान पत्र रहेको छ। लकाश पौडेलको विगत बाह्र वर्षमा १६ कृति प्रकाशित भएको छ। कवि गोविन्दराज विनोदी आँशु कवि स्तरको राष्ट्रिय ख्यातिप्राप्त गजलकार हुनुहुन्छ। सुमन घिमिरे ( अविरत सुमन) विगत दुई दशकदेखि लेखनको क्षेत्रमा युवा गजलकार हुनुहुन्छ।
कार्यक्रममा स्वागत गर्दै संस्थाका उपाध्यक्ष सिताराम कोइरालाले उपस्थित विभिन्न साहित्यिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुमा हार्दिक आभार एवम् धन्यवाद टक्र्याउनु भयो।कार्यक्रममा उहाँहरुको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष सुरेन्द्र अस्तफलले विषयवस्तु राखेका थिए। कार्यक्रममा कविताको बारेमा कि नोट मन्तव्य युगिन कवि भूपिन खड्काले राखे। उनले कविता एक गेय विद्या मात्र नभई यसलाई अध्ययन गर्न श्रम खर्चिनु पर्ने बताउँदै कार्यक्रम सारगर्भित भएको मन्तव्य राखे।
कार्यक्रममा सम्मानित कवि लकाश पौडेलले बोल्दै कविता वाचन गरे साथै कवि डाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्रीप्रति हार्दिक आभार एवम् संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिए। कार्यक्रममा साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं,चितवन साहित्य परिषद्का अध्यक्ष कृष्णप्रसाद पण्डित एवम् कवि एकदेव रिमालले शुभकामना व्यक्त गर्दै मनमोहक कविता वाचन गरे। कार्यक्रममा प्रमुख अतिथि कवि रामबाबु घिमिरेले बोल्दै कवि डाँडा साहित्य समाजको साहित्यप्रतिको योगदानको कदर गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिए। कार्यक्रममा सुरेन्द्र अस्तफल, कवि भूपिन खड्का, प्रमुख अतिथिलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।
कार्यक्रममा समापन मन्तव्य राख्दै कवि डाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्रीले कवि डाँडा साहित्य समाजले २५ औं वार्षिकोत्सव नयाँ एवम् नविन सन्देशसहित मनाउने बताए। उनले कार्यक्रममा उपस्थित सबै साहित्यकार, पत्रकार एवम् उपस्थित सबै सबैमा हार्दिक धन्यवाद दिदै भविष्यमा चरैवेति पत्रिकाको प्रकाशन हुने बताए। कार्यक्रम सभ्य एवम् भव्य रुपमा कवि डाँडा साहित्य समाजको कार्यालय ह्वाइट कर्नर कैलाशनगरमा सम्पन्न भएको हो।

