कोही सुरक्षाकर्मी सलाम ठोकेकै भरमा तलबभत्ता खाँदै,कोही चाँहि ज्यानै जोखिममा पारेर भोको पेट काम गर्दासमेत महिनौंदेखि तलबविहीन

सुरक्षा निकायबाट रिटायर्ड वा बेरोजगार व्यक्तिहरुलाई सेक्युरिटी गार्डको जागिर दिने भन्दै बाठाटाठाहरुले कम्पनी, फार्म खोलेका छन्। यसका लागि शुरुमै आवेदन फाराम भर्दा एकदेखि तीन हजार रुपैयाँसम्म बुझाउनुपर्छ । सँगै शैक्षिक योग्यताको प्रमाणपत्र र पहिला सुरक्षा निकायमा काम गरेको भए त्यसलाई पुष्टि गर्ने कागजात पनि पेश गर्नुपर्छ ।

फाराम बुझाएको केही समयपछि जागिर दिलाइन्छ । प्रायजसो बैंक तथा वित्तिय संस्थाको गार्ड वा कतिपय व्यक्तिको घरमा पनि सुरक्षाकर्मीका रुपमा खटाइन्छ । उनीहरुलाई मासिक १२ हजारदेखि बढीमा २० हजार रुपैयाँ तलब दिइन्छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म काम लगाइन्छ । सार्वजनिक बिदा वा चाडपर्वको बेलासमेत छुट्टी दिइँदैन ।

न त दशैं पेश्की वा उपचार खर्च नै दिइन्छ । उल्टै बिरामी हुँदा बिदामा बसे तलब काटिदिन्छन्। सुरक्षा गार्ड कम्पनी, फार्महरु पछिल्लो समय राम्ररी फस्टाएका छन् । अरुलाई शोषण गरेर यिनीहरुले कमाइरहेका छन् । काम गर्नेलाई तलब कम दिने तर सम्बन्धित बैंक, वित्तिय संस्था वा व्यक्तिसँग भने मोटो रकम असुल्छन् ।

यस्ता कम्पनीहरुले एउटै सेक्युरिटी गार्डको तलब मासिक ३० हजारदेखि ५० हजार रुपैयाँसम्म बुझ्ने गरेका छन् । अनि कामदारलाई चाँहि त्यसको आधा तलबसमेत दिँदैनन् । यति मात्र होइन, सम्बन्धित बैंक, वित्तिय संस्था वा व्यक्तिबाटै मासिक रुपमा तलब उठाउँछन् तर सुरक्षा गार्डलाई भने दुई–तीन महिनामा मात्र तलब दिन्छन् । दशैं पेश्की लिन्छन् तर गार्डलाई चाँहि दिँदैनन् ।

अहिले बैंक, वित्तिय संस्था, निजी कम्पनी वा व्यक्तिको घरमा कम्पनीमार्फत खटिएका सुरक्षा गार्डहरु आफूहरुले तलब नपाएको तीनदेखि ६ महिना भइसकेको बताउँछन् । यसको भित्रि कुरा बुझ्दा बैंक, वित्तिय संस्था, निजी कम्पनी वा व्यक्तिहरुले नै तलब दिन नसकेको बुझिएको छ । अधिकांश सेक्युरिटी गार्ड भन्छन्, ‘तलब माग्दै कम्पनी जाँदा हामीले नै पैसा पाएका छैनौं, तपाईंहरुलाई कसरी दिने भन्छन् ।’

सेक्युरिटी गार्ड कम्पनीहरुले हिजो बीचमा बसेर नाफा खानु खाए । अनि अहिले चाँहि सम्बन्धित संस्थाले नै तलब नदिएको भन्दै टारिरहेका छन्। बैंक, वित्तिय संस्था, निजी कम्पनी वा व्यक्तिले तलब भुक्तानी नगरे आफुले हिजो कमाएको त्यत्रो पैसाबाट तलब दिनु पर्यो नि त । सेक्युरिटी गार्ड पेशा निकै जोखिमपूर्ण छ ।

यसमा अरुको सुरक्षा गर्दा आफ्नो ज्यानैसमेत ज्यान सक्छ । कोही पनि व्यक्ति सुरक्षा गार्डमा यत्तिकै जागिर खान आउँदैनन् । आर्थिक अवस्थाका कारण उनीहरु ज्यान जोखिममा पारेर यो जागिर गर्छन् । जागिरबाट आउने तलबले नै उनीहरुको जीविकोपार्जन चलेको हुन्छ । तर, तलब नै नपाएपछि के गर्ने ? के खाने ? बालबच्चा छ भने कसरी पाल्ने ? कसरी पढाउने ?

ढोकामा बसेकै कारण हाकिमलाई दिनमै पटकपटक सलाम ठोक्नुपर्छ । अनि त्यही हाकिमले भने उसको तलब दिइरहेको छैन । गार्डहरु भोको पेट बसेर संस्थाको सुरक्षा गर्छन् । ज्यानै जोखिममा पारेर । फेरि त्यही गार्डको तलब दिन चाँहि आलटाल । जताबाट पनि उनीहरु पीडित छन् ।

सेक्युरिटी गार्डले मात्र होइन, पछिल्लो समय बैंक, वित्तिय संस्था, बिग मार्ट, सुपर मार्केट, भाटभटेनी, निजी संघसंस्था, होटल, रेस्टुरेन्ट तथा घरहरुमा काम गर्नेहरुले पनि तलब नपाएको व्यापक गुनासो छ । सरकारले श्रमिकको तलब मासिक १७ हजार तीन सय रुपैयाँ तोकेको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाइन्छ ।

दशैं पेश्की र उपचार खर्च दिनुपर्छ । विडम्बना, अहिले पनि मानिसहरु मासिक तीन हजारदेखि बढीमा दश हजार तलबमा बिहान ७ बजेदेखि बेलुका ७–८ बजेसम्म काम गर्न बाध्य छन् । उनीहरुलाई बिदाको दिनसमेत छुट्टी दिइँदैन । न त दशैंमा पेश्की र बिरामी हुँदा उपचार खर्च नै दिइन्छ । सरकार बजार चलायमान भएको दाबी गर्छ ।

यदि साँच्चिकै बजार चलायमान भएको भए व्यापार व्यवसाय नभएको जनाउँदै श्रमिकको तलब रोक्ने निजी संघसंस्था, बैंक, वित्तिय संस्था, होटल रेस्टुरेन्टलगायतलाई किन कारबाही नगरेको ? अर्कोतर्फ, ढोकामा बस्ने गार्डको तलब दिन नसक्ने बैंक, वित्तिय संस्थाहरुले बचतकर्ताको निक्षेप फिर्ता दिन सक्छन् त ? प्रश्न उठेको छ ।

होटल, रेस्टुरेन्ट छिर्दा तीन–चार दिनको बासी खानेकुरा दिइन्छ । जसले गर्दा मानिसहरु झनै होटल, रेस्टुरेन्ट जान छोडेका छन् । भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरुमा पनि पछिल्लो समय ग्राहक देखिँदैन । यसको कारण मानिससँग पैसा नभएर हो कि कुहिएको गुणस्तरहीन सामान भएर हो ? अथवा सामान धेरै नै महँगो भएर हो ? यो सर्वसाधारणलाई नै थाहा होला ।

बजारमा मन्दी छ । मन्दीका कारण व्यापार व्यवसाय सुस्ताएको छ । जसको मार सम्बन्धित संघसंस्था वा कम्पनीमा काम गर्ने सेक्युरिटी गार्डसहित कर्मचारीहरुमा परेको छ । यता, जनताले तिरेको करबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित भिआईपीहरुको सुरक्षामा खटिएका आर्मी, पुलिसहरुले तलबभत्ता खाइरहेका छन् ।

भिआईपीहरुलाई सलाम ठोकेकै भरमा आर्मी, पुलिस र सशस्त्रहरुले तलबभत्ता बुझिरहेका छन् । उनीहरुको काम सलाम ठोक्नुबाहेक केही हुँदैन । राजनीतिक दलका नेतालाई हिँड्न नसकेर सुरक्षाकर्मीहरुले हात समातेकोसमेत देख्ने गरिएको छ । यसरी आफ्नै खुट्टामा उभिन नसक्नेहरु देश विकास गर्छु भनेर ठूल्ठुलो भाषा ठोक्छन् ।

यस्ता नेताबाट जनताले पनि विकासको आशा गर्नु लज्जास्पद छ । कोही सुरक्षाकर्मी उठ्न नसक्नेलाई उठाएर वा सलाम ठोकेकै भरमा तलबभत्ता बुझिरहेका छन्, कोही सुरक्षा गार्ड चाँहि ज्यानै जोखिममा पारेर भोको पेट काम गर्दा पनि तलब पाउँदैनन् । त्यसैले, अब तलब नपाएका सुरक्षा गार्डहरुले पनि हाकिमलाई सलाम ठोक्ने होइन, कालोमोसो दल्नुपर्छ ।

बुढापाकाले भन्थे, बोल्ने सक्नेको पिठो पनि बिक्छ, बोल्ने नसक्नेको चामलसमेत बिक्दैन । हामी कहाँ यस्तै भइरहेको छ । ओलीले आठ कक्षा मात्र पास गरेका छन् । तैपनि पटकपटक देशको प्रधानमन्त्री बनिसके । अनि पीएचडी होल्डरहरु चाँहि देशमा काम नपाएर भौतारिएर बसेका छन् । अधिकांश त विदेश पलायन भइसके । अब यस्तै अवस्था रहिरहे देशमा युवा एउटै पनि हुने छैनन् ।