काँग्रेस बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने तीन नेतालाई स्पष्टीकरण सोध्नुपर्ने माग

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा गृहमन्त्री रमेश लेखकको राजिनामा माग्ने तीन जना नेतालाइ स्पष्टिकरण सोध्नुपर्ने माग गरिएको छ।
बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाउँदै स्पष्टिकरण सोध्न सभापति शेरबहादुर देउवासँग माग गरेका थिए। नेता डा.शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा आएको बैठकपछि पत्रकारसँगको कुराकानीमा बताए।
‘हामीले सभापतिलाई के भन्यौं भने, तपाईं अब उनीहरूलाई बोलाउनूस्। सोध्नूस्, के भएको हो? निकास निकाल्नु पर्यो नि ? एक आपसमा मुठभेड गरेर कसलाई फाइदा हुन्छ? स्पष्टीकरण माग्नूस् शेखर डा.साबसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग,बैठकपछि नेता कोइरालाले पत्रकारसँग भने ।
नेताहरूले उनीहरुसँग स्पष्टीकरण सोध्न माग गरेपछि सभापति देउवा हुन्छ हुन्न केही जवाफ नदिएको कोइरालाले जानकारी दिए।
संस्थापनइतरका नेता डा.शेखर कोइरालाले छानबिनलाई सघाउन गृहमन्त्री लेखकले राजीनामा दिनु उचित हुने धारणा केही दिन अगाडि राखेका थिए।
शेखर पक्षीय सांसदहरू डा.सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विचार राखेका छन्। कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निचोड निकालेको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
