गृहमन्त्रीविरूद्ध गरेको षड्यान्त्रको प्रदाफास गर्न काँग्रेस एक ठाउँमा,गल्ती नगरेको विषयमा डराउनु पर्दैन
काठमाडौं। भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीको बदमासीमा गृहमन्त्री रमेश लेखकलाई जोडेर विवादित बनाउने प्रयासविरुद्ध नेपाली कांग्रेस संस्थागतरूपमा उभिएको छ।
अध्यागमन विभागअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका कर्मचारीले भिजिट भिसामा मानिस विदेश जाँदा गर्ने गरेको आर्थिक चलखेल र सेटिङमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको हो।
केही नेताले प्रश्न उठाएपछि गृहमन्त्री लेखकले ‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ, मेरो कुनै संलग्नता छैन’ भन्ने जवाफ दिए। आफूलाई राजनीतिक रूपमा बदनाम गर्न खोजिएको भन्दै उनले पार्टीले जे भन्छ, त्यही गर्ने बताए।
सभापति शेरबहादुर देउवाको बूढानीकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा नेताहरूले लेखकको कुरा सविस्तार सुने। अनि गृहमन्त्रीप्रति विश्वस्त रहेको निष्कर्ष निकालेको जानकारी प्रवक्ता डा। प्रकाशशरण महतले दिए।
गृहमन्त्रीले सविस्तारपूर्वक भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन भनेर कुरा राख्नुभयो। हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्यौं,’ महतले भने,जो संलग्न छन्,निष्पक्ष छानबिन गरेर कारबाही गर्नुपर्छ। हामी भिजिट भिसा दुरुपयोग गर्नेमाथि कारबाही हुनुपर्छ भन्ने मान्यतामा छौं। यसैले गृहमन्त्रीप्रति हामी विश्वस्त छौं।
बैठकमा लेखकले बोलेपछि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले ढाडस दिएको एक पदाधिकारीले जानकारी दिए ।
सभापति देउवाले २०४८ सालमै गृहमन्त्री हुँदा पनि यस्ता समस्या सामना गरेर आएको बताएका थिए।
‘समस्या हुन्छन्। म गृहमन्त्री हुँदा २०४८ सालमा पनि केही समस्या आएका थिए,’ देउवाले विषय उल्लेख नगरी बैठकमा भनेका थिए, ‘यसैले समस्यासँग लड्ने हो, समाधान गर्ने हो, यसबाट भाग्ने होइन। गल्ती नगरेको विषयमा डराउनु हुँदैन।
देउवाले गृहमन्त्री हुँदा संसदमा ‘गोलीको आँखा हुँदैन’ भनेर बोलेको विषयमा त्यतिखेर विवाद भएको थियो। देउवाले त्यसै प्रसंगतर्फ इंगित गरेको एक नेताले जानकारी दिए।
प्रतिपक्षमा हुँदा २०४८ सालमा एमालेले सडक आन्दोलन गरेको थियो। यही आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १३ वर्षीया सम्झना दाहाल र ७ वर्षका अनिश शाक्यको मृत्यु भएको थियो।
यो घटनापछि एमाले झन् आक्रामक भएको थियो। अनि संसदमा जवाफ दिन उपस्थित भएका तत्कालीन गृहमन्त्री देउवाले ‘गोलीको आँखा हुँदैन’ भनेका थिए। एमाले नेताहरूले बेलाबेलामा यही प्रसंग ल्याउँदै देउवामाथि कटाक्ष गर्दै आएका छन्। यिनै प्रतिस्पर्धी दुई ठूला दल ११ महिनादेखि संयुक्त सरकारमा छन्।
सोमबारको बैठकमा देउवाले मात्रै होइन, उपसभापति खड्काले आफू २०५६ सालमा गृहमन्त्री हुँदा टेलिभिजन चोरिएको एउटा किस्सा सुनाए।
म गृहमन्त्री भएको समयमा काभ्रेको एउटा घरमा टेलिभिजन चोरी भएको थियो। तर, केही सांसदले टेलिभिजन चोरी गर्नेलाई पत्ता नलागए गृहमन्त्रीले राजीनामा दिनुपर्छसम्म भनेका थिए, खड्काले बैठकमा भने,यसैले पदमा बसेपछि अरूले पनि बदमासी गर्छन्। तर, आफूले बदमासी गरेको छैन भने डराउनु हुँदैन, सामना गर्नुपर्छ।
बैठकमा लेखकले विमानस्थलस्थित अध्यागमन कार्यालयका केही कर्मचारीले बदमासी गर्न लागेपछि सरुवा गरेको जिकिर पनि गरेका थिए।
‘केही कर्मचारीले बदमासी गरेको कम्प्लेन आएपछि कर्मचारी हटाएको र मन्त्रालय तानेको हुँ भनेर उहाँले प्रस्ट पार्नुभयो,बैठकमा सहभागी एक नेताले भने, ‘एयरपोर्ट अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धानले नियन्त्रणमा लिएपछि र मोबाइल जफत गरेपछि थाहा पाएको बैठकमा बताउनुभयो।
लेखकले आफ्नो सचिवालय र अध्यागमनमा आएका कर्मचारीबारे यसअघि परेको उजुरी र अनुसन्धानबारे पनि पछि थाहा भएको बताएका थिए। लेखकले प्रस्टीकरण दिएपछि पार्टीले लेखकको पक्षमा उभिने निर्णय गरेको प्रवक्ता डा। महतले बताए।
‘यसअघिका विषयमा पहिले उजुरी परेपछि, संलग्नता भएको आधार आएपछि छानबिनको कुरा आएको हो। अहिले गृहमन्त्रीको विषयमा केही उजुरी पर्ने, आधार देखिने भएको छैन। आधार देखिएकामाथि अख्तियारले छानबिन गरिरहेको छ।
गृहमन्त्रीजी छानबिनको दायरामा नआइकन दोषी हो, उसैले गर्यो भन्न मिल्दैन,बैठकपछि महतले भने, ‘यसैले गृहमन्त्रीलाई छानबिन गर्ने निकायले तानेको छैन, आधार छैन,बाहिरबाट जबर्जस्त उहाँलाई जोड्न खोजिएको हो। तर, उहाँ छानबिनको दायरामा हुनुहुन्न। निर्दोष हुनुहुन्छ। संलग्न हुनुहुँदैन।
साथै, बैठकले गृहमन्त्रीको विषयमा नबुझी प्रतिक्रिया दिएको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन पनि नेताहरूलाई निर्देशन दिएको छ । प्रवक्ता महतले कतिपय नेताले हचुवाको भरमा गृहमन्त्रीको राजीनामा मागेको बताए।
‘कुराको गहिराइमा नपुगी कतिपयले राजीनामा दिनुभयो। गृहमन्त्रीले संसद्मा बोल्नुहुन्छ। बाहिर पनि स्पष्ट ढंगले राख्न सुझाव दिएका छौं। पब्लिकमा गएको गलत सन्देश हटाउन पनि उहाँले बोल्नुहुन्छ,महतले भने, उहाँ संलग्न हुनुहुँदैन भन्ने भएपछि राजीनामाको कुरा नै आउँदैन।
नेताहरूले ‘यस्तो समस्या आइरहन्छ, पार्टीले बचाउ गर्नुपर्छ’ भन्दै लेखकलाई बलियो हुन सुझाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन्। ‘मातहतका कर्मचारीमाथि छानबिन गर्नेबित्तिकै राजीनामा दिने परिपाटी भए भोलि प्रधानमन्त्री, मन्त्रीहरूका मातहत कर्मचारीमाथि पनि प्रश्न उठ्नेबित्तिकै राजीनामा दिनुपर्ने हुन्छ, डिनाले भनिन्,यस्तो गर्दै गए भोलि कुन मन्त्रीले कसरी काम गर्न सक्छ।
कांग्रेस नेता डा। शेखर कोइराला, सांसद राजेन्द्र बजगाईं, सुनिल शर्मासहितका नेताले गृहमन्त्री लेखेकको राजीनामा माग गरेका थिए। तर, गृहमन्त्रीले आफ्नो कुरा खुलस्त संसदमा राख्ने, पदाधिकारी र सांसदले बोल्ने निष्कर्ष पार्टीले निकालेको छ।
आइतबार नै प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको कांग्रेस–एमालेका शीर्ष नेताको बैठकले गृहमन्त्रीलाई अनावश्यक विवादमा तान्न खोजिएको निष्कर्ष निकालेको थियो। हचुवामा गृहमन्त्रीलाई सामाजिक सञ्जाल र मिडियामार्फत राजीनामा मागेको विषयलाई बालुवाटार बैठकले प्रतिवाद गरेको थियो।
यस्तै, सत्ताको नेतृत्व गरेको एमालेको सचिवालय बैठकले आइतबार सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा भएका टिप्पणीका आधारमा गृहमन्त्रीमाथि अनुसन्धान र अभियोजन नहुने निष्कर्ष निकालेको थियो।
‘कुनै पनि विषयमा अनुसन्धान र अभियोजन गर्ने निकायहरू छन्। आमसञ्चार र सोसल साइटबाट अनुसन्धान अभियोजन गर्ने हक कसैले राख्दैनन्। दलले सुशासनको पक्षमा पैरवी गर्छन्। अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्छन्।
दोषी देखिए कारबाहीमा पर्छन्,एमाले महासचिव शंकर पोखरेलले भनेका थिए,सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट के टिप्पणी भयो भन्ने आधारमा फैसला हुँदैन। आरोप मात्रैको विषयले सबै कुराको निर्धारण गर्दैन। के भएको छ भन्नेमा सम्बन्धित निकायको ध्यान पुगेकै होला।
तर, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन्। गृहमन्त्रीले जवाफ दिने मंगलबारको संसद् बैठकलाई बिथोल्ने तयारीमा समेत प्रतिपक्षी र विपक्षी पार्टी छन्।
