तीर्थ भट्टराईसँग अख्तियारले बयान नलिएको पुष्टि,गृहमन्त्रीकाे नाम जाेडेर ५० लाखको अफवाह फैलाउदै(भिडियाे)

काठमाडौं। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराईको अहिलेसम्म औपचारिक बयान नलिएको खुलेको छ।

अख्तियारका अधिकारीका अनुसार भिजिट भिसा प्रकरणमा अध्यागमनमा छापा मार्ने क्रममा उनलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको थियो । तर, बयान लिएको र भट्टराईले विभिन्न व्यक्ति मुछेको भन्दै बाहिर आइरहेका कुरा गलत भएको ती अधिकारीले बताए।

अख्तियार स्रोतले भन्यो, ‘भिजिट भिसामा दैनिक लाखौं रकम असुल भइरहेको पटक-पटकको सूचनाअनुसार त्यस दिन छापा मारिएको हो। छापा मारुञ्जेल सम्बन्धित अधिकारीलाई नियन्त्रणमा लिनु सामान्य प्रक्रिया हुन्छ। तर, बयान लिएको भनेर आइरहेका प्रचारबाजी सबै गलत हुन्।

अध्यागमन निर्देशक तीर्थ भट्टराईको भूमिका शंकास्पद देखिएकैले उनलाई नियन्त्रणमा लिएर हाजिरीमा छाडिएको हो। उनीसँग यो प्रकरणमा प्राप्त तथ्य र प्रमाणका आधारमा बयान हुन्छ तर अहिले फरेन्सिक रिपोर्ट समेत नआइसकेको र अनुसन्धानको प्रक्रिया अन्य ढंगले पनि चलिरहेकाले थप बयान भएको छैन।

बाहिर आएका कुरा अनुमान र हल्लामात्र हुन्। यसको अख्तियारले वक्तव्य निकालेर खण्डन गर्ने भन्दा पनि सत्य तथ्य अनुसन्धानपछि बाहिर ल्याउने हो । दोषी देखिए उनीसहित संलग्नमाथि मुद्दा चल्छ।

जेठ ७ गते अख्तियारको टोलीले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर भट्टराईको मोबाइल र केही डिभाइस बरामद गरी आवश्यक जाँचका लागि फरेन्सिक ल्याबमा पठाएको छ। घटनास्थलको मुचुल्का तयार बाहेक अहिले केही प्रक्रिया अघि नबढेको स्रोतको भनाइ छ।