विपक्षी दलहरूले मागे गृहमन्त्रीको राजीनामा, बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।आज प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै बोलेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्रीको राजीनामा मागेका हुन्। त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा प्रकरणमा राजनीतिक नेतृत्वको सहयोगविना सम्भव नरहेको उनले बताए।
उनले भने, ‘विभिन्न बैठकमा उहाँ (लेखक) धेरै नैतिकताको कुरा उठाउनुहुन्छ। विभिन्न सुरक्षा,अनुसन्धान निकाय उहाँको मातहतमा छ। त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दिनुस्। अहिले नै उहाँ दोषी भन्दैनौँ । नभए संसद् चल्दैन। उनले ठूलो माछा को हो रु भन्दै प्रश्नसमेत गरे।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि अरुलाई नैतिकताको पाठ सिकाउने गृहमन्त्री आज आफैमाथि प्रश्न उठ्दा पदमा बसिरहन नपाउने भन्दै राजीनामा माग गरे।
‘भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीलाई मात्र होइन, गृहमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ। उच्चस्तरीय छानबिन समिति बनाएर यस प्रकरणको छानबिन नगरे संसद् चल्न दिँदैनौं, उनले भने।
त्यस्तै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा लगायतका दलले अवरोध गरेका हुन्।
बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्। बैठकमा रास्वपा सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।
