संसद् अवरोध: सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडान

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण बन्द रहेको संसद् खुलाउने प्रयास अझै सफल हुन सकेको छैन। सहमतिको पहल गर्न सभामुख देवराज घिमिरेको आह्वानमा सत्तापक्ष र विपक्षीबीच बैठक बसे पनि कुनै निष्कर्ष निस्कन सकेन।

सभामुख घिमिरेको पहलमा बसेको बैठकमा उपसभामुख,प्रमुख सचेतक र मुख्य सचेतकहरू सहभागी थिए। तर, सत्तापक्ष र विपक्षी आ-आफ्नो अडानमा कायम रहँदा सहमति हुन नसकेको हो।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री रमेश लेखकलाई संसद्मा आफ्नो धारणा राख्न दिनुपर्ने अडान लिएका छन्। गृहमन्त्रीमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिन उनलाई अवसर दिनुपर्ने उनीहरूको भनाइ छ।

यता, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडान कायम राखेका छन्।

भिजिट भिसाको नाममा नेपाली युवाहरूलाई करोडौँ रकम लिएर विदेश पठाउने कार्यमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप विपक्षीहरूले लगाएका छन्।

सोही आरोपमा जवाफ दिन संसद्मा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले लगातार अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेर सहमतिको प्रयास गरेका हुन् । तर, हालसम्म सहमति जुट्न नसकेको र संसद्को गतिरोध कायमै रहेको छ।