प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वाईसीएलको प्रदर्शन

काठमाडौं। नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा सङ्घ नेपाल,योङ कम्युनिष्ट लिग र युवा सङ्गठनले प्रदर्शनका क्रममा “नालायक गृहमन्त्री राजीनामा दे,भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद,भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गर जस्ता नारा लगाएका थिए ।

यसैबीच, प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले पनि गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राख्दै बैठक अवरुद्ध गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन्। विपक्षीहरूले यो प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै निष्पक्ष छानबिन र राजीनामाको मागलाई तीव्र बनाएका छन्।

प्रदर्शनमा सहभागीहरूले नालायक प्रधानमन्त्री राजीनामा दे,नालायक गृहमन्त्री राजीनामा दे,दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।