गृहमन्त्रीलाई ओली देउवाको कस्सिलो साथ,राजिनामा नदिने

काठमाडौं। नेपाली काँग्रेस र नेकपा एमाले गृहमन्त्री रमेश लेखकलाई कुनै गल्ती नगरेकाले राजिनामा दिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको भिजिट भिसाको सेटिङ प्रकरणमा जोडिएका गृहमन्त्री लेखकलाई सत्तारुढ दलहरु काँग्रेस एमालेका शीर्ष नेतृत्वले नै जोगाउने योजना बुनेका हुन्। यस सम्बन्धमा आईतबार मात्रै बसेको सत्तारुढ शीर्ष दलका नेताहरुको बैठकले गृहमन्त्रीमाथि अनावश्यक लाञ्छना लगाइएको निश्कर्ष निकाल्यो।

प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु सम्मेलित बैठकमा गृहमन्त्रीमाथि लागेका आरोपहरुबारे पनि छलफल भएको थियो।

जसमा सबैजसो नेताहरुले लेखकले राजीनामा दिनुनपर्ने भनेका थिए। त्यस्तै उक्त बैठकले रवि लामिछानेको मुद्धाको प्रकरणसँग जोडेर गृहमन्त्रीमाथि मिथ्या आरोप लगाइएको निष्कर्ष निकालेको थियो। एक कर्मचारीले बदमासी गर्दैमा मन्त्रीले नै राजीनामा दिनुपर्ने भन्ने विषय नमिल्दो भएको सत्ता गठबन्धनको निश्कर्ष छ।

 सत्ता गठबन्धनको निश्कर्षजस्तै काँग्रेस एमालेले पनि आ–आफ्नै पार्टीको बैठक बसालेर गृहमन्त्री निर्दोष रहेको निचोड दिएका छन्। सत्ता गठबन्धनको बैठक बस्नुअघि नै एमालेले सचिवालय बैठक राखेको थियो। जसमा गृहमन्त्री लेखकमाथि लागेका आरोपलाई हल्लाका भरमा विश्वास गर्न नसकिने निश्कर्ष निकालियो।

एमालेले सम्बन्धित निकायले गरेको अनुसन्धानलाई मात्रै आधिकारिक मान्ने तर हल्लाको पछि नलाग्ने जिकिर गरेको छ। उसले अहिलेको स्थितिमा गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निचोड निकालेको छ।

उता नेपाली काँग्रेले पनि गृहमन्त्रीविरुद्ध कुनै उजुरी नपरेको तथा भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता नदेखिएकाले उनी कारवाहीको भागेदार बन्नुपर्ने स्थिति नभएको निश्कर्ष निकालेको छ।

तर गृहमन्त्रीमाथि लागेको आरोप भने सामान्य छैन। भिजिट भिसा प्रकरणमा अध्यागनका कर्माचारीहरुको ठूलो बदमासी र असुली धन्दा नै देखिन्छ भने उक्त कर्मचारीहरु गृहमन्त्रीको सचिवालयसँगै जोडिएको देखिएका छन्।

जसले गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने आवश्यकता दर्शाउँछ । अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईको अस्वभाविक सरुवाले समेत गृहमन्त्रीसँगको कनेक्सन भिजिट भिसा प्रकरणमा रहेको दावी गर्न सकिन्छ। किनकी गृहमन्त्रीले नै यसअघि अध्यागमनमा अख्तियारले छापा मार्ने तयारीपछि आफ्नै मन्त्रालयमा तानेका थिए । यद्यपि उनी अहिले अख्तियारकै नियन्त्रणमा छन्।

काँग्रेस र एमालेको मुल नेतृत्वले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निश्कर्ष निकालेपनि पार्टीमा केही नेताले भने राजीनामाको लागि दवाव दिइरहेका छन्। काँग्रेसका सांसदहरु शेखर कोइराला, राजेन्द्र बजगाईँ र शुनिल शर्माले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

त्यस्तै एमाले नेता विष्णु रिजालले पनि सामाजिक संजालमा स्टाटस लेख्दै गृहमन्त्रीमाथि घुमाउरो आलोचना गरेका छन्। उनले ‘भिजिट भिसा’ काण्डले मुलुकको शीर नै निहुरिएको टिप्पणी गर्दै सरकारी अदालतबाट उन्मुक्ति पाएपनि जनताको अदालतबाट उनीहरु सँधै अपराधि भएको बताएका छन्।

उनले भनेका छन् ‘बेरोजगार नागरिक बेचेर पैसा असुल्नेहरूले कानुनका छिद्र समातेर सरकारी अदालतबाट उन्मुक्ति त मिलाइहाल्लान्। तर नागरिकको अदालतमा तिनीहरू सदासर्वदा अपराधीकै रूपमा अभिलिखित हुनेछन्।

गृहमन्त्रीमाथि यतिबेला राजीनामाका लागि ठूलो नैतिक दवाब बढी रहेको छ। यस्तैमा प्रतिपक्षी दल माओवादी केन्द्र र रास्वपाले पनि गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

यसैबीच गृहमन्त्री लेखकले मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष प्रष्टिकरण दिने कार्यसूची छ। तर उनको प्रष्टिकरणले विपक्षी कन्भिन्स हुनेमा शंका नै देखिन्छ।

विपक्षी दलहरु,सत्ता पक्षका केही नेता र आम नागरिकबाट लेखकले राजीनामा दिनुपर्ने आवाज तीव्र रुपमा उठिरहेका छन्। तर सत्ता पक्ष भने गृहमन्त्रीको बचाउमा उत्रिरहँदा यो प्रकरण अझ रोचक मोडमा पुगेको छ।