उच्चबाट सफाइ पाएका मोहम्मद अफताव आलम रिहा
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । उनी रिहा भएका नख्खुका जेलर भीमराज कोइरालाले बताए ।
बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको छ ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ ।
त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो । प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए ।
