‘दलतन्त्र’ले गणतन्त्रको मर्ममाथि नै प्रहार भयो: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘दलतन्त्र’को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार भइरहेको बताएको छ ।गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना दिँदै रास्वपाले सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्तिको अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमा परेको बताएको हो ।

नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा उनीहरूमा बढेको निराशा आक्रोशमा रूपान्तरण हुँदै गएको भन्दै रास्वपाले यो व्यवस्थाको स्थायीत्वका लागि शुभसंकेत नभएको प्रष्ट पारेको छ ।

‘नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ हुन् । तर, आज यी स्तम्भ कति बलिया छन् भन्ने प्रश्न हाम्रासामु टड्कारो रूपमा खडा छ,’ रास्वपाले भनेको छ ।

राज्य र शासकले नागरिकको आवाज र उनीहरूको जीवनस्तर सुधारको चाहना मात्र होइन आफू र आफ्नै संरचनाको जनमैत्री रुपान्तरणमा निरन्तर गरेको बेवास्ता व्यवस्थाप्रतिकै विश्वास घटाउने मुख्य कारण भएको रास्वपाको भनाइ छ ।

नयाँ सोच र विचारमा जनादेशसहित अगाडि आउन खोजेका वैकल्पिक राजनीतिक दलविरुद्ध राज्य र राज्य संरक्षित समूहको प्रहारले लोकतान्त्रिक प्रतिस्पर्धाको मर्ममै आक्रमण गरिरहेको रास्वपाको भनाइ छ । यसले स्थापित शक्तिहरू परिवर्तन र नयाँपनप्रति कति असहिष्णु छन् भन्ने प्रष्ट्याएको सन्देशमा उल्लेख छ ।