चुनाव लडेर प्रधानमन्त्री बन्न पूर्वराजालाई माधवको चुनौती

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक सञ्चालनको चिन्ता भए चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले वंशको शासन नचाहिएको भन्दै जनतामा गएर चुनाव जितेर प्रधानमन्त्री बनेर आउन चुनौती दिएका हुन् ।

‘यदि मुलुक सञ्चालन गर्ने चिन्ता कसैलाई लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ,’ उनले भने । प्रतिस्पर्धाबाट मन जितेर अघि बढ्ने आँट गर्न पूर्वराजालाई चुनौती दिँदै अध्यक्ष नेपालले इतिहासको पांग्रा पछि धकेल्न नदिइने बताए ।

‘गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन,’ उनले भने, ‘राजतन्त्रको बारेमा कुरा उठिरहेको छ । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, कुन दिन जन्मिँदै गरेको पनातिलाई जिम्मा दिऊँ भन्ने कुरा आउला । त्यो हुनाले वंशको शासन हामीलाई चाहिएको छैन । नेपालको इतिहासको पांग्रा पछि धकेल्न कदापी दिँदैनौं ।