सरकार र जनता नै विदेशीको शरणमा, सरकार ऋण ल्याइरहने जनता विदेशी देख्नासाथ मागिहाल्ने
रुषा थापा
विदेशी पर्यटक नेपाल घुमफिर गर्न आउँदा दुईटा फाइदा छ । पहिलो नेपालको व्यापार व्यवसायसँगै अर्थतन्त्रमा वृद्धि । दोस्रो चाँहि नेपालको अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार । कोरोना महामारीपछि विदेशी पर्यटक ठप्प भएकोमा पछिल्लो समय नेपालमा विदेशी पयर्टक आउने क्रम बढ्दो छ । हामी कहाँ विदेशीलाई पाहुना भन्ने गरिन्छ ।
पाहुनाको संस्कार गर्नु हामी नेपालीको दायित्व छ । विडम्बना, अहिले नेपाल घुम्न आउने विदेशी पर्यटकहरु जताजतै ठगीमा परिरहेका छन् । होटलदेखि व्यापार व्यवसायी, यातायात व्यवसायीहरुसम्मले उनीहरुलाई ठगिरहेका छन् । होटल व्यवसायीहरुले विदेशी भएको थाहा पाउनासाथ एक रात बसेकै पाँचदेखि दश हजार रुपैयाँसम्म असुल्ने गरेका छन् ।
अन्य व्यापारी तथा व्यवसायीहरु पनि पाँच सय नपर्ने सामान हजारदेखि पाँच हजार रुपैयाँसम्ममा विदेशीलाई बेच्छन् । यता, ट्याक्सी व्यवसायीहरु पनि विदेशी देख्नेबित्तिकै पाँच सय रुपैयाँमा पुग्नेमा हजारदेखि पाँच हजार रुपैयाँसम्म असुल्छन् । विदेशी पर्यटकहरु नेपालका मठमन्दिर तथा प्राकृतिक सम्पदाबाट लोभिएर आएका हुन्छन् ।
नेपालमा विश्व सम्पदा सूचीमा परेका थुप्रा मठमन्दिर छन् । काठमाडौं उपत्यकाभित्र मात्र पशुपतिनाथ, स्वयम्भू, वसन्तपुर, हनुमानढोकाजस्ता विश्व सम्पदा सूचीमा सूचीकृत थुप्रै सम्पदा छन् । उनीहरु नेपाल आउनासाथ त्यस्ता सम्पदा हेर्न पुग्छन् । त्यहाँ जाँदा पनि उनीहरुलाई ठगिन्छ । पूजाका सामग्रीहरु किन्दा व्यापारीहरुले दोब्बर पैसा लिन्छन् ।
विदेशीहरु नेपालमा एक्लै घुमफिर गर्न सक्दैनन् । गाईडको आवश्यकता पर्छ । अनि गाईडले पनि उनीहरुसँग चर्को पारिश्रमिक असुल्छन् । अर्कोतर्फ उनीहरुले सामान बोक्न सक्दैनन् । भरिया चाहिन्छ । भरियाले पनि उनीहरुसँग त्यत्तिकै महँगो शुल्क असुल्छन् । नेपालमा गरिबी छ र यो सबैलाई थाहै भएको विषय हो । तर, पछिल्लो समय विदेशीलाई देखेपछि जोकोही पनि माग्ने गर्छन् ।
मठमन्दिरमा माग्नेहरु जताततै देखिन्छन् । विदेशीहरु कर तिरेर नेपाल आएका हुन्छन् । यहाँका सम्पदा घुमफिर गर्दा पनि कर तिर्नुपर्छ । दुर्भाग्य, कर तिरेका आएका विदेशीहरु यहाँ पनि ठगीमा पर्छन् । उनीहरु जहाँ जहाँ पुग्छन्, त्यहाँ त्यहाँ ठगीमा पर्छन् । जसका कारण नेपालप्रति उनीहरुको धारणासमेत नकारात्मक बनिरहेको छ ।
विदेशीले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा धेरै भिन्नता आएको छ । कतिपय विदेशीले त नेपाल ठग र माग्नेहरुको देश हो पनि भन्न थालिसके। सरकार पनि विदेशीसँग ऋण ल्याएर देश चलाइरहेको छ । अनि जनता पनि विदेशी देख्नासाथ माग्न थालिहाल्छन् ।
सरकारले देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण ल्याई पचाइसक्यो । दार्जेलिङ्ग, सिक्किम, टकनपुर, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत थुप्रै नेपाली भूभाग भारत र चीनलाई बेचिसक्यो । प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘हामीले देश विकास गयौं । खुट्टामा चप्पल नलगाएको नेपाली अहिले भेटिँदैन ।
अहिले जनता उनलाई सोध्छन्, ‘विकास त देख्नुभयो, नेपाली भूभाग छिमेकीले कब्जा गरेको चाँहि देख्नुभएको छैन हो, प्रधानमन्त्रीज्यू ?’ प्रधानमन्त्रीले देश विकास भएको ठोकुवा गरिरहँदा अर्थतन्त्र भने ध्वस्त अवस्थामा पुगेको कुरालाई नकार्न सकिँदैन । अहिले नेपाललाई ऋण दिएका विदेशीहरुबीच हानाथाप भइरहेको छ । कसले नेपाल कब्जा गर्ने भनेर ।
जनता सरकार र त्यहाँ बसेकाहरुलाई सोध्छन्, ‘हामीले यत्रो वर्षतिर तिरेको कर खोई ? नेपाल धितो राखेर विदेशीबाट ल्याएको २७ खर्ब ऋण कहाँ गयो ? नेपाली भूभाग भारत र चीनलाई बेचेर आएको पैसा कता लगियो ? विदेशबाट नेपालीको पठाएको रेमिट्यान्स खोई ? सहकारीको ४३ अर्ब कसले पचायो ? निर्माण व्यवसायीको ४५ अर्ब, दुध र उखु बिसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालहरुको २४ अर्ब भुक्तानी किन नदिएको ?
अमेरिकाले नेपालमा दशकयता आर्थिक सहयोग गर्दै आएको थियो । यहाँका सरकारीदेखि गैर सरकारी संघसंस्थालाई अमेरिकाले आर्थिक सहयोग पठाउँदै आएकोमा केही महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले घुमाउरो भाषामा नेपाल र नेपाली ठग हुन् भने । साथै, आफूहरुले पठाउँदै आएको आर्थिक सहयोग अब नदिनेसमेत घोषणा गरे ।
ट्रम्पले भनेको कुरा एकातिरबाट सही पनि हो । किनकि यहाँका गैरसरकारी संघसंस्था अर्थात् एनजीओहरुले अमेरिकाबाट थुप्रै डलर ल्याएर पचाएका छन् । नेपालमा नभएको गरिबीसमेत देखाएर अमेरिकाबाट डलर ल्याउने अनि पचाउने काम एनजीओहरुले वर्षौदेखि गर्दै आएका थिए । अनि ट्रम्पले यसबारे थाहा पाएपछि एनओसीलाई आउने डलर त रोकियो नै सँगै नेपालको समेत अन्तर्राष्ट्रियस्तरमा बेइज्जत भएको छ ।
अमेरिका विश्वकै शाक्तिशाली देश हो । ट्रम्पले त्यसो भनेपछि नेपाललाई अनुदान सहयोग गर्दै आएका थुप्रै देश अब अनुदान नदिने निर्णयमा पुगेका छन् । अनि विदेशीले अनुदान नपठाउनेबित्तिकै सरकारले कसरी देश चलाउँछ ? किनकि अहिलेसम्म त सरकारले विदेशी ऋण र अनुदानकै भरमा देश चलाएको देखिन्छ ।
दैनिक तीन हजार नेपाली युवा रोजगारीका लागि खाडीलगायत मुलुक गइरहेका छन् । त्यहाँ रगत, पसिना बगाएर कमाएको पैसा आफ्ना आफन्त, घरपरिवारलाई पठाउँछन् । त्यो पैसा बचत गर्नुको साटो परिवारहरु मोजमस्ती गर्छन् । एक जना विदेशमा कमाउँछन्, दश जना नेपाल बसेर मोजमस्ती गर्छन् । बरु दशै जनाले नेपाल बसेर केही गरेको भए त त्यो व्यक्ति विदेश जानु पर्दैन्थ्यो नि ।
तर, यहाँ त अरुको पैसामा मोजमस्ती गर्ने बानी परेको छ । त्यो चाँहे जनतालाई होस् या सरकारलाई । आफू केही नगर्ने, अर्कोको मेहेनत, परिश्रममा मोजमस्ती गर्ने । अनि आफ्नै परिवारले त आफ्नैलाई यस्तो गर्छन् भने सरकारले जनतालाई भेडा बाख्राझैं विदेशीलाई बेचेर बसिबसि खानु कुनै नौलो कुरा भएन ।
पहिला पहिला भनिन्थ्यो, नचिनेको मान्छेसँग बोल्नुहुँदैन । उनीहरुले दिएको खानेकुरा खानु हुँदैन । त्यस्ता मान्छेको पछि लागेमा भारत वा विदेशमा लगेर बेचिदिन्छ भनिन्थ्यो । अहिले त आफन्तले नै आफन्तलाई बेचिरहेका छन् । शत्रु खोज्न घरबाहिर जानु पर्दैन भनेझैं पछिल्लो समय दलाल वा मानव तस्कर खोज्न बाहिर जानै पर्दैनन् ।
घरभित्रकै परिवारका सदस्य वा आफन्तले नै आफ्नालाई बेच्न थालेका छन् । मीनपावर व्यवसायीसँग मिलेर रोजगारीका लागि आकर्षक मुलुक पठाइदिने नाममा ठगी गर्ने, युवती भएमा बेच्ने वा विदेश लगेर अलपत्र पारिदिनेसमेत गर्न थालिएको छ । जनता, सरकार र राजनीतिक दलमा कुनै फरक छैन । सरकार र दलहरु आफ्नो फाइदाका निम्ति विदेशीलाई देश बेचिरहेका छन् भने जनता आफ्ना परिवारलाई ।
अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको छ । यो प्रकरण रवि लामिछाने र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदासमेत चर्चामा आएको थियो । अनि कारबाही चाँहि किन एउटालाई मात्रै ? ०५४ सालदेखि नेपालबाट भिजिट भिसामा नेपालीहरु विभिन्न देश जाँदै आएका छन् । अहिलेसम्म लाखौं नेपाली गइसके ।
यदि यो प्रकरणमा साँच्चिकै कारबाही गर्न खोजिएको हो भने ०५४ सालयता गृहमन्त्री बनेका हरेक व्यक्तिमाथि छानबिन हुनुपर्छ । साथै, भिजिट भिसामा गएकाहरुमाथि पनि अनुसन्धान गरिनुपर्छ । को कसले कति पैसा कसलाई बुझाएर भिजिट भिसामा गए ? यसबारे विस्तृत छानबिन हुनैपर्छ ।
एउटा गृहमन्त्रीलाई राजीनामा गराएर मात्र यो प्रकरण सल्टाउन मिल्दैन । किनकि यसमा हरेक दलका कुनै न कुनै नेताको संलग्नता छ। नेपाललाई अहिलेसम्म कृषिप्रधान र जलस्रोतको धनी देशका रुपमा चिनिँदै आएको छ। तर, अब मान्छे बेच्ने र माग्ने देशका रुपमा नेपाल विश्वसामु चिनिने छ । कृषिप्रधान देश त नारा र भनाईमै सीमित छ ।
किनकि गुन्द्रकसमेत विदेशबाट आयात गर्नुपर्छ। अर्कोतर्फ, जलस्रोतको धनी देश भनिएपनि खोला,नदी सबै मानिसहरुले कब्जा गरिसके। खोला नै मासेर घर ठड्याइएको छ। नदीमा सबै सुकुम्बासीको नाममा हुम्कबासीहरुको रजगज छ। अनि कसरी नेपाल कृषिप्रधान र जलस्रोतको धनी देश भयो ?
