कसैलाई रिस उठ्यो भन्दैमा गृहमन्त्रीको राजीनामा हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरेको विषयमा कडा आलोचना गरेका छन्। सोमबार आफ्नो पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले विपक्षीको मागलाई आधारहीन र रिसको भरमा गरिएको बताए।

प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा कर्मचारीलाई सोधपुछ गरेको विषयलाई लिएर विपक्षीले गृहमन्त्रीको राजीनामा मागेको दाबी गरे। तथ्य र प्रमाणबिना गृहमन्त्रीलाई छुनुपर्ने अवस्था छैन।

अख्तियारले एउटा कर्मचारीलाई बोलाएर सोधपुछ गर्‍यो भन्ने आधारमा राजीनामा मागिएको छ। के सोधियो, त्यो पनि थाहा छैन, बयान पनि लिइएको छैन,उनले भने। रिस उठ्यो भन्दैमा राजीनामा माग्ने कुरा हुँदैन।

उनले विपक्षीको संसद् अवरोध गर्ने शैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। सधैँ संसद् अवरोध गर्ने ? दुई जना उभिएर कराएपछि संसद् अवरोध हुने ? यो ज्यादती धेरै भयो,ओलीले भने।

प्रधानमन्त्री ओलीले विपक्षी दलहरूको चरित्रमाथि पनि व्यङ्ग्य गरे। उनले माइतीघर मण्डलामा कुनै पनि विषयमा आन्दोलन भएमा विपक्षी दलहरूले समर्थन गर्ने गरेको टिप्पणी गरे।

कसैले सापटी लिएको पैसा नपाएर माइतीघर मण्डलामा आन्दोलन गर्‍यो भने पनि विपक्षी दलहरू कुदेर त्यहाँ पुग्छन्। ‘हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिन्छ, माग पूरा गराउनुपर्छ’ भन्छन्, ओलीले कटाक्ष गरे।