सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले सोडारीमाथि १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागसहित सोमबार आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार, सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० सम्म सार्वजनिक पदमा रहँदा आफ्नो हैसियत दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएको छ । उनको वैधानिक आम्दानी (पारिश्रमिक, बैङ्क ब्याज, कृषि आय, श्रीमती र छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता आदि) जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा रहेको थियो । तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन, छोराको विवाह, सेयर लगानी र चुनाव खर्चमा १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको आयोगको ठहर छ ।

आम्दानी र खर्चको तुलनामा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसाको स्रोत नखुलेको आयोगले जनाएको छ । यो रकम सोडारीले भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को विभिन्न दफा उल्लङ्घन गरी आर्जन गरेको आयोगको दाबी छ ।

आयोगले सोडारी, उनकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा रहेको जग्गा, घर, बैङ्क मौज्दातलगायत सम्पत्ति जफत गर्न माग गरेको छ । साथै, सोडारीले सम्पत्ति विवरणमा झूटा जानकारी पेश गरेको भन्दै थप कारबाहीको माग गरिएको छ ।