आइसिसी विश्वकप लिग-२: स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित
काठमाडौं। आइसिसी विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा करण केसीको विष्फोटक ब्याटिङका कारण घरेल टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्यो। २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो।
अन्तिम बलमा नेपालको जितका लागि १ रन आवश्यक रहेको थियो। अन्तिम बल मार्क वाटले वाइड गरेपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो।
नेपालको जितमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे । ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक बनाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।
कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। आसिफ ३३ बलमा २ चौकाको सहयोगमा २० रनमा आउट भए।
गुलशन कुमार झा ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रनमा आउट भए। भीम सार्की ४८ बलमा ३ चौकाको सहयोगमा ४० तथा कप्तान रोहित कुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए।
१ सय ५२ रनमा २ विकेट गुमाएको नेपालले थप रन जोड्दा विकेट गुमायो। स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गरेकाे थियाे।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।
जितसँगै ८ टोली सहभागी लिग टु मा नेपाल १३ खेलमा ८ अंकका साथ सातौं छ। पराजित स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ।
विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो। लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ। पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।यस त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्याण्ड अलावा नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ।
