यातायात व्यवसायीको आन्दोलन फिर्ता,सार्वजनिक यातायात सुचारु

काठमाडौं । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिने निर्णय गरेका छन् । मङ्गलवार साँझ बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको बैठकले हालका लागि हडताल स्थगित गर्ने निर्णय गरेको हो।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीहरू आन्तरिक छलफलमा जुटेका थिए । महासङ्घका अध्यक्ष विजय स्वाँरले हडताल फिर्ता लिने निर्णय भएको र अब सार्वजनिक यातायातका साधनहरू निर्बाध रूपमा सञ्चालन हुने जानकारी दिए ।

“हामीले हालका लागि हडतालका कार्यक्रम फिर्ता लिएका छौँ। अब सार्वजनिक यातायातका साधनहरू सहज रूपमा चल्नेछन्,” स्वाँरले भने । यो निर्णयले यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।