विश्वकप लिग-२: आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार स्कटल्याण्डको फोर्टहिल डुन्डीमा दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरूद्ध रोमाञ्चक जित निकालेको थियो । नेदरल्याण्ड्सविरूद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ ।

स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ । युएईको ६ अंक छ । २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ । २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ भने समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ । नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ ।