गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन: नेता बिराडी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवम् राष्ट्रियसभाका पूर्वसांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण बिराडीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

बिराडीले नक्कली भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथि उठेको विवादबारे टिप्पणी गर्दै रमेश लेखकले राजीनामा दिनुपर्ने कारण नरहेको बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गृहमन्त्रीको बारेमा कुनै उजुरी नपरेको र कसैले उजुरी नदिएको भन्दै यस्तो अवस्थामा राजीनामा दिनुपर्ने कारण नरहेको तर्क गरे।

माओवादी नेताले संसदीय व्यवस्थामा यस्ता गजगोल हुने नै भएको बताउँदै यसलाई गणतन्त्रवादी भनेर नजोड्न आग्रह गरे। उनले संसदीय व्यवस्था भनेको यस्तै गजगोल हुने नै भएको र राजतन्त्रमा पनि संसदीय व्यवस्था चलायो भने यो भन्दा बढी गडबड हुने बताए।

वर्तमान सरकार र राजनीतिक दलहरूले सहमति, सम्झौता र समन्वयको राजनीति नगर्दा दलहरू दलीय स्वार्थमा लाग्नु स्वाभाविक भएको उनको धारणा छ।

राजनीतिक दलहरूले गृहमन्त्रीको राजीनामा माग गरेर जुन प्रकारले काम गरिरहेको छ त्यसलाई संसदीय अभ्यासबाट नै निराकरण गर्नुपर्ने उनले बताए।

बिराडीले संसदले छानबिन गर्ने काम आफुले गर्न नहुने बताउँदै छानबिन गर्ने निकायले छानबिन गर्ने र संसदले खबरदारी गर्ने भूमिका खेल्नुपर्ने बताए। उनले अनुसन्धान गर्ने निकायलाई स्वतन्त्र रूपमा अनुसन्धान गर्न दिनुपर्ने र त्यसमा हस्तक्षेप गर्न नहुने बताए।

बिराडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी, निष्पक्ष र सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको कुरा स्पष्ट पारे। राजनीतिक दलहरूले आफ्ना मान्छे भागबण्डा गरेर लैजाने पुरानो प्रणाली छाडेर योग्यता आधारमा नियुक्ति गर्नुपर्ने उनको भनाइ छ। उनले अख्तियारले एउटा निर्णय गर्नुपर्ने र त्यसले मात्रै समस्याको समाधान हुने बताए।

माओवादी केन्द्रका नेताले राजनीतिक दलहरूको सहमतिमा संसद चलाउने काम गर्नुपर्ने र कानुनबमोजिमका निकायहरूले तटस्थ र निष्पक्ष भएर अनुसन्धान गर्नु नै समस्याको मुख्य उपाय भएको बताए। उनले यसरी टिट फर ट्याटको काम गर्दै गयो भने कुनै पनि सरकार चल्न नसक्ने चेतावनी दिए।

बिराडीले आफू सिन्धुपाल्चोकका विभिन्न स्थानमा जनताको समस्याको बारेमा अन्तरक्रिया गर्न जाने र जनताहरूले नेताहरूमाथि धेरै प्रश्नहरू गर्न थालेको बताए। उनले यसलाई प्रजातन्त्रको मूलभूत सिद्धान्त भएको र लोकतन्त्रमा नेतालाई प्रश्न गर्नु स्वाभाविक भएको बताए।