जे-जे गर्ने हो गरौँ तर नागरिकता विधेयक चाँडो पास गरौँः गृहमन्त्री लेखक

फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन्। शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने बताए।

गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइने बताए।

विभिन्न मन्त्रालयहरूमा राय, परामर्शहरूका लागि पनि विधेकय गइसकेको र सरकारले चाँडै मन्त्रीपरिषद्को सहमतिका साथ सदनमा लैजाने बताए।

उनले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुंग्याउन आग्रह गर्नुभयो। नागरिकता विधेयक टुंगिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरूको समस्या समाधान हुने बताए।

गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी ऐनलाई संशोधन गरी नयाँ ऐन बनाउने गरी सरकार अघि बढिसकेको बताए। नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था गरिने बताए।