युके र पोल्याण्ड पठाउने बहानामा ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले बुधवार दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं, दक्षिणकाली नगरपालिका-१ बस्ने, रामेछाप, मन्थली नगरपालिका-३ घर भएकी ४० वर्षीया प्रमिला बरूवाल र काठमाडौं महानगरपालिका-२६, गोंगबु बस्ने, पाल्पा, माथागढी गाउँपालिका-४ घर भएका ३४ वर्षीय मोहन पोख्रेल छन्।
प्रमिलाले युके पठाइदिन्छु भन्दै ७ जनाबाट ३२ लाख ३५ हजार रुपैयाँ र मोहनले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जनाबाट १० लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले प्रमिलालाई काठमाडौं, नागार्जुन नगरपालिका-३, हलचोक र मोहनलाई काठमाडौं महानगरपालिका-२६, गोंगबुबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।
