विपक्षी दलहरूको बैठक बस्दै
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन्।
प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला अध्यक्ष प्रचण्डले मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्नेगरी बैठक बोलाएका हुन्। बैठकमा संसदको अवरोध खुलाउने विषयमा छलफल हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
गृहमन्त्री रमेश लेख भिजिट भिसा प्रकरणमा जोडिएपछि विपक्षी दलहरूले छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका। तर, सत्तापक्ष तयार भएको छैन। जसकारण यहि जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ।
जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन संसद अवरोध गरेका थिएनन्। तर, त्यसयता भने संसद बस्न सकेको छैन । प्रतिनिधिसभामा बजेटमाथि छलफल पनि हुन सकेको छैन।
संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता समेत भएको थियो। उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो। सत्तारुढ दलका नेताहरूसँगको भेटमा भएका संवादको विषय समेत प्रचण्डले विपक्षी दलहरूलाई ब्रिफिङ गर्ने बताइएको छ।
