विपक्षीलाई पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
काठमाडौं। सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने बताएका छन् । आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन्।
घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको भन्दै प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए। त्यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तो सूचना टाँस गरेर संसद् स्थगित गर्ने पक्षमा आफूहरू नरहेको बताए।
आजैबाट बजेटमाथि छलफल प्रारम्भ हुने पनि उनले बताए। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको छलफलका क्रममा आ–आफ्ना अडान यथावत रहँदा सहमति जुट्न सकेको छैन।
आजका लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बोलाइएको छ। यद्यपि बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद अवरोध हुँदै आएको छ। निरन्तरको अवरेधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ।
