नागढुङ्गा-नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने
काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड भोलिदेखि थप ५ दिन बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले सूचना निकालेर भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो।
सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ। यसअघि पनि उक्त सडक जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहेको थियो।
नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ।
