काठमाडौंमा पानीका लागि ट्याङ्करको भर पर्ने अवस्था अन्त्य हुन्छ: मन्त्री यादव

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्ने अवस्था चाँडै अन्त्य हुने बताएका छन्।

आज खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौँ उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मेलम्ची खानेपानी अब काठमाडौँवासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पिउने पानीको समस्या समाधान हुने बताए।

उनले भने,अब पानीका लागि ट्याङ्करको भर पर्ने दिन सकिए। असारमा पनि मेलम्चीको पानी बन्द हुने छैन। नियमित पानी आपूर्ति सुनिश्चित गर्न सरकारले आवश्यक सबै विकल्प र पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।

मन्त्री यादवले खानेपानी पहुँच सबै नागरिकको मौलिक अधिकार भएकाले यसलाई सुनिश्चित गर्न मन्त्रालय कटिबद्ध रहेको बताए। साथै उनले आगामी दिनमा सबै शहरी क्षेत्रमा सुरक्षित र पर्याप्त पानी आपूर्ति सुनिश्चित गरिने प्रतिबद्धता जनाए।

काडमाडौँ उपत्यकामा बर्खामा मेलम्चीको पानी बन्द नगरी दैनिक पानी वितरण गर्ने योजनानुसार काम सुरु गरिएको र अब उक्त काम करिब करिब अन्तिम चरणमा पुगेको जानकारी दिए।

मन्त्री यादवले नेपाल सरकारले खानेपानी तथा सरसफाइ नियमावली, २०८१ जारी गरिसकेको र आयोगले खानेपानी महसुल निर्धारण निर्देशिका, २०८१ पनि सार्वजनिक गरिसकेकाले अब उपभोक्ता समितिहरूले सेवा प्रवाहसँगै महसुल निर्धारण सम्बन्धी प्रस्ताव खुला र पारदर्शी आधारमा तयार गरी आयोगमा प्रस्तुत गर्न सक्ने बताए।

मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी प्रत्येक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता र मौलिक अधिकार भएकाले यस अधिकारको सुनिश्चितताका लागि हामी सबैको सहकार्य, सहभागिता र उत्तरदायित्व आवश्यक हुने बताए।

कार्यक्रमले साझा समस्या, समाधान तथा भविष्यको रणनीतिबारे खुला संवाद गर्ने अवसर दिएको र यसले नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको खाडललाई न्यून गर्न सहयोग पुर्‍याउने आशा गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई। रामकुमार श्रेष्ठले बताए।