समाजवाद घोषणा नगरे गरिब हुन्छौँ: वामदेव गौतम

काठमाडौं। राष्ट्रियसभा सदस्य वामदेव गौतमले समाजवाद घोषणा नगरे नेपाली गरिब हुने दावी गरेका छन्।

आइतवार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो दावी गरेका हुन्। त्यसैले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको उनको तर्क छ।

उनले समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने जिकिर गरे। अरू बाटोबाट हिँडे गरिब र गरिब जनतालाई ठग्ने नेताभन्दा अरू नहुने बताए। उनले भ्रष्टाचार नगरी नेता नबाँच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनैपर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।

गौतमले भने, ‘समाजवाद घोषणा गर्ने वेला भयो, ढिला गर्नुहुँदैन। त्यही बाटोमा हिँडे हामी समृद्ध हुन्छौँ। अरू बाटोबाट हामी गरिबको गरिबभन्दा अरू हुँदैनौँ। उनले संविधानमा समाजवाद लेखिए पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए।