नेता निधिको आग्रह: ‘गृहमन्त्रीको मुद्दा रवि लामिछानेको जस्तो होइन’,माओवादीलाई संसद अवरोध अन्त्य गर्न सुझाव

भक्तपुर। नेपाली कांग्रेसका पूर्वउपसभापति तथा वरिष्ठ नेता विमलेन्द्र निधिले गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नहरूलाई रवि लामिछानेसँग तुलना गर्नु अनुचित भएको बताएका छन्। आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लाई संसद अवरोध अन्त्य गर्न आग्रह गरेका हुन्।

नेता निधिले गृहमन्त्री लेखकमाथि उठाइएको मुद्दाको प्रकृति र गम्भीरता रवि लामिछानेको प्रकरणभन्दा पृथक रहेको तर्क गर्दै भने, “लेखकमाथि लागेको कुरा अनुसन्धानको विषय हो, तर यो लामिछानेको प्रकरणजस्तो गम्भीर र प्रमाणित आरोप होइन। त्यसैले संसद अवरोध गर्नु ठिक हैन।

उनले संसदजस्तो संवैधानिक निकायलाई अवरुद्ध गर्नु देश र जनताप्रतिको जिम्मेवारीबाट भाग्नुसरह हुने भन्दै लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई अवरुद्ध नगर्न विपक्षी दलहरूलाई सुझाव दिए।

“संसद अवरुद्ध गरेर जनताको मुद्धा उठ्दैन, बरु संवाद र संयोजनबाट समस्या समाधान गर्नुपर्छ, निधिले स्पष्ट पारे, “प्रतिपक्षीको काम प्रश्न उठाउनु हो, तर त्यसका लागि संसद भित्रै बहस गर्नु जरुरी हुन्छ। बाहिरबाट अवरोध गर्नु लोकतान्त्रिक पद्धतिका लागि राम्रो सन्देश होइन।

गृहमन्त्री लेखकमाथि केही दिनयता सरकारी पद प्रयोग गरी लाभ लिएको आशंकामा छानबिनको माग उठ्दै आएको छ। नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलहरू यही आरोपका आधारमा संसद अवरोध गर्दै आएका छन्।

यसैबीच, निधिले माओवादी केन्द्रलगायत विपक्षी दलहरूलाई जनताप्रति उत्तरदायी हुन आग्रह गर्दै भने, “राजनीतिक असहमति स्वाभाविक हो, तर संस्थागत असन्तुलन सिर्जना गर्नु ठीक होइन। हामी सबैले संविधान र लोकतान्त्रिक मूल्यहरूलाई सम्मान गर्नुपर्छ।

उनले सत्तारूढ दलहरूलाई समेत सुझाव दिँदै भने, विपक्षी दलहरूसँग संवाद र सहकार्यको वातावरण बनाउन सत्तापक्ष पनि जिम्मेवार हुनुपर्छ। अहंकारले समाधान आउँदैन। देशलाई स्थायित्व र सुशासन चाहिएको छ।

त्यस कारणले छानबिन भइरहेको अवस्थामा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद्लाई अवरुद्ध गर्ने काम राम्रो नभएकाले माओवादीलाई संसद् खुलाउन उनले आग्रह गरे।